अब थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २४ साउन २०७६, १६ : १८
अब थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्ने

ललितपुर । ललितपुर महानगरपालिकाको मुख्य सडकमा थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्ने भएको छ ।  हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमरको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरे ।  

उद्घाटन समारोहमा उनले भने, ‘ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्ने छ । यी ब्रुमर ललितपुरका अन्य मुख्य सडक जावलाखेलदेखि नख्खु पुल र पुल्चोकदेखि लगनखेलसम्म आवश्यकताअनुसार सञ्चालन गरिनेछन् ।’ महानगरप्रमुख महर्जनले रु चार करोड ४८ लाख ११ हजार २८० तिरेर ललितपुरमा दुई ब्रुमर भित्र्याएको जानकारी दिए । 

फोहरमैला व्यवस्थापन केन्द्रका वरिष्ठ अधिकृत सुरेन्द्रराज अवालेले इटालीमा निर्माण भएको सो बु्रमरले प्लास्टिक, घाँस र धुलो सबै एकैसाथ सङ्कलन गर्ने बताए । यसबाट सङ्कलित फोहरमध्ये पुनः प्रयोग गर्न मिल्नेलाई छुट्टै भण्डारण गरी प्रयोगमा ल्याइने, घाँसलाई कुहाएर कम्पोष्ट मल बनाइने र माटोलाई खाल्डाखुल्डी पुर्न प्रयोग गरिने अवालेले बताए । 

अबको एक हप्ता सडकको गुणस्तर अध्ययन गरी त्यसैअनुरुप सो बु्रमर सञ्चालन गरिने अवालेले  जानकारी दिए । ब्रुमरका कारण सडक सफा गर्न राखिएका कुनै पनि कर्मचारीको जागिर जोखिममा नपर्ने अवालेले जिकिर गरे । हाल ललितपुर महानगरसँग सानो एउटासमेत गरी तीन ब्रुमर छन् । महानगर स्रोत भन्छ, ‘सो बु्रमरले चक्रपथ एरिया सफाइ गर्ने कुरा अघि बढाएको छैन ।’ 

जेनटेक प्राइभेट लिमिटेड कम्पनीका प्रबन्ध निर्देशक राजन श्रेष्ठले सो बु्रमर डिजेलबाट चल्ने बताए । श्रेष्ठले भने, ‘सो बु्रमरसँग ६२० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता छ ।’ सो कम्पनीले ललितपुरमा दैनिक ब्रुमर सञ्चालन गराउन महानगरका पाँच प्राविधिकलाई निःशुल्क तालीम दिइसकेको बताएको छ । यो ब्रुमरले परीक्षणकालका लागि एक हप्ता ललितपुरको मुख्य सडक मात्र सफा गर्नेछ । खुमलटारमा कार्यालय रहेको सो कम्पनीसँग दुई वर्ष बु्रमरको पूरै रेखदेख र मर्मतसम्भार गर्ने जिम्मेवारी रहेको श्रेष्ठले जानकारी दिए ।

महानगरपालिका मेकानिकल इञ्जिनीयर पुष्कर भट्टराईले महानगरले यसअघि डुलेको कम्पनीको एउटा सानो ब्रुमर सडक सफा गर्न प्रयोग गर्ने गरेको बताए । हाल उक्त सानो ब्रुमरको ब्रस खिइएकाले त्यसलाई केवल पाटन दरबार क्षेत्रको सफाइमा प्रयोग गरिएको भट्टराईले बताए । उनले भने, ‘सो सानो ब्रुमर महानगरलाई सडक विभागले केही समयअघि सडक सफा गर्न सहयोग गरेको थियो ।’

प्रतिक्रिया दिनुहोस