प्रेमको एक पदयात्रा - तिमीसम्म

शुक्रबार, २४ साउन २०७६, १३ : ४०
प्रेमको एक पदयात्रा - तिमीसम्म

– भूपाल राई

वर्षौँ अघि तिमी छुटेको निर्मम पलदेखि 
वर्षौँ पछि तिमीलाई फेरि भेटेको पलकसम्म
म कहाँ कहाँ भत्किएँ ?
कति पटक धस्किएँ ?
मैले त्यसको हिसाब कसैलाई मागेको छैन
बस् , तिम्रो प्रेमको श्रीपेच पहिरिएर
म यतिखेर राजा भएको छु

त्यस्तो राजा
जसले तिमीमाथी कहिल्यै एकतर्फी शासन चलाउने छैन
जसले राज्यको अहंले किन्चित टेक्नेछैन 
बरु एक एक बुँद आँसुको गजुर चुल्याएर
उपहारमा गीतको दरबार दिनेछु
र , तिमिलाई रानी बनाउँनेछु

मेरी रा....नी !
कृपया मलाई निस्लोट निस्लोट थाक्न देऊ
बेहोस बेहोस बहुलाउन देऊ
म मेरो अन्तिम प्रेमको पदयात्रामा
धेरै परसम्म हिड्न चाहन्छु
धेरै परसम्म पुग्न चाहन्छु ।।

प्रतिक्रिया दिनुहोस