भरतपुर महानगरको सौन्दर्यता बिगार्नेलाई कारबाही गरिने

सफल खबर संवाददाता

विहीबार, २३ साउन २०७६, १७ : ४०
भरतपुर महानगरको सौन्दर्यता बिगार्नेलाई कारबाही गरिने

चितवन । भरतपुर महानगरपालिकाले महानगरको सौन्दर्यता बिगार्नेलाई कारबाही प्रक्रिया सुरु गरेको छ ।
सौन्दर्यता बिगार्ने कार्यलाई नियन्त्रण गर्न विभिन्न सचेतना कार्यक्रम महानगरले सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरको सौन्दर्यता बिगार्नेलाइ आर्थिक ऐन २०७६ बमोजिम जरिवाना गरिने छ । सौन्दर्यता बिगार्ने कार्य नियन्त्रण गर्नको लागि आकश्मिक निरीक्षण टोली खटाइएको उहाँको भनाइ छ । 

जथाभावी फोहरमैला फ्याँक्ने, थुपार्ने, फुटपाथमा पसल राख्ने, निषेधित क्षेत्रमा पार्किङ्ग गर्ने, निषेधित क्षेत्रमा ठेला राख्ने, अनावश्यक हर्न बजाउने, तोकिएभन्दा बाहेकको क्षेत्रमा अनुमति नलिई बिज्ञापन सामग्री राख्ने, गाईवस्तु छाडा छाड्ने, खुल्ला रुपमा प्लाष्टिकजन्य पदार्थ बाल्नेलगायतका कार्यहरु नगर्न महानगरले सबैमा अपिल गरेको छ । यदि यस्ता कार्य गरेको फेला परेमा सौन्दर्यता विगारेको ठहर गरी कारबाही प्रक्रिया थालिने महानगरले जनाएको छ ।

‘मध्य नेपालको सुन्दर शहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ बनाउने दीर्घकालिन सोच पूरा गर्न यस्तो अभियान थालिएको महानगरको भनाइ छ ।


 

प्रतिक्रिया दिनुहोस