साहित्यकार रेशम विरहीको उपचार खर्च जुट्दै

विहीबार, २३ साउन २०७६, १६ : ३४
साहित्यकार रेशम विरहीको उपचार खर्च जुट्दै

चितवन । अग्रज पत्रकार एवं साहित्यकार रेशम विरहीको उपचारमा सहयोग गर्न बाँकेमा पनि आर्थिक सङ्कलन अभियान सुरु भएको छ ।

यसअघि चितवनमा पनि विरहीको उपचार खर्च जुटााउनको लागि आर्थिक संकलन अभियान सुरु भएको थियो । नेपाल पत्रकार महासङ्घ बाँके शाखाले सुरू गरेको अभियानमा रु एक लाख २५ हजार सङ्कलन भएको अध्यक्ष ठाकुरसिंह थारूले जानकारी दिनुभयो। 

पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील विरही हाल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार गराइरहनुभएको छ । हाल भरतपुर महानगरपालिका–१६ चितवनमा बसोबास गर्दै आउनुभएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको हो । 

नेपाल पत्रकार महासङ्घ बाँकेले साहित्यकार विरहीको उपचार सङ्कलन अभियान शुरु गरेको भोलिपल्टै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले एक महीनाको आफ्नो तलबभत्ता ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

एक दुईदिनभित्रै नगरप्रमुख राणाले रकम प्रदान गर्ने महासङ्घ अध्यक्ष थारूले बताउनुभयो । उहाँका अनुसार, महासङ्घका साधारण सदस्य र नेपालगञ्जका उद्योगी व्यापारीले पनि विरहीको उपचारमा स्वस्फूर्त सहयोग प्रदान गरिरहेका छन् । चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसक्नुभएका विरहीका नौ वटा कृति प्रकाशित भइसकेका छन्  ।

प्रतिक्रिया दिनुहोस