– कृष्ण सुदामा
हजुर त ठुलो मान्छे
दर्जा पनि ठुलो
कर्जा पनि ठुलो
घरै पनि ठुलो
डरै पनि ठुलो
हो हजुर
नामै चलेको
कामै चलेको
थलो फराकिलो
खलो फराकिलो
जे गर्नु खानदानले गर्दो रहेछ हजुर
बाँच्दा सलामी होस् वा मर्दा मलामी
आफू त भुँइ मान्छे
हजुर त दर्जावाल
आफू त कर्जावाल
पराले घर
पिठाकै भर
हो हजुर
श्रमजीवी नाम
पसिना पोख्ने काम
दाम पनि छैन
माम पनि छैन
हामीलाई जीवन भर भोकै जोताएर
हजुर मात्रै जुकाझैं ढाडिन सुहाउँछ र?
हाम्रा सन्तान पुस्तौनी हलिया कजाएर
हजुरका मात्रै उपरखुट्टी लाउनु धर्म हो कि पाप?
हामी मात्रै जीवन भर झुप्रोमा कुप्रो ढाड बङग्याउने
हजुर सधैं आलिशन महलमा गुल्टने कहाँ लेख्याछ?
हामीलाई मात्रै दस नङग्रा खियाउने फोगटो छैन
हजुरको भने सयौं बिघा कासघारी र बाँस घारी
नियम बनाउने पनि हजुर
मिच्ने पनि हजुर
किच्ने पनि हजुर
थिच्ने पनि हजुर
ए हजुर! एउटा कुरा सोध्न मन लाग्यो
झिंजाले मुढो पोल्छ भन्छन् । हो हजुर ?
मैले जथाभावी बोलें कि हजुर ?
हजुरको मनपेट पोल्यो कि हजुर ?
हुन त हजुर
दर्जावाल मान्छे
पर्दावाल मान्छे
झण्डावाल मान्छे
डण्डावाल मान्छे
उड्नलाई पखेटा छन् , गुड्नलाई पाङ्ग्रा छन्
आफू त
पराले घर
पिठाकै भर
दाम पनि छैन
माम पनि छैन
सुकुम्बासी नाम
भारी खेप्ने काम l
प्रतिक्रिया दिनुहोस