– रमेशचन्द्र घिमिरे
गाउँमा बखतबहादुर साहुजीको एउटा ठूलो पसल थियो । प्रतिस्पर्धा गर्ने व्यक्तिहरू अरू नभएकाले उनलाई प्रशस्त फाइदा हुन्थ्यो । उनी सामाजिक कार्यमा त्यति देखिँदैनथे । दिनरात पैसा कमाउने धन्दामा मात्र उनी लागिरहन्थे ।
उनको गाउँमा एउटा विद्यालय खोलिने भयो । जनश्रम जुटाएर ढुङ्गा ओसारियो । जग खन्ने काम गाउँलेहरूले नै गरे । सिकर्मी, डकर्मी गर्नेहरू पनि गाउँकै थिए । हर्के, बिर्खे, मैते, सोमे सबैको रगत पसिनाले समयमै स्कुल खडा भयो तर यस बिचमा बखतबहादुरको सक्रियता देखिएन न त विद्यालय खोलिनु पर्ने कुरामा नै उनको सदाशयता थियो । गाउँलेहरूको प्रश्नमा उनको जवाफ यस्तो हुन्थ्यो –“ म बालुवामा पानी हाल्न तयार छैन ।”
विद्यालय पूरा भयो र सरकारबाट स्थायी स्वीकृति प्राप्त गर्न पनि सफल भयो । आफ्नो परिश्रमले सिर्जना भएको स्कुल देखेर हर्के, बिर्खे, मैते, सोमे लगायतका गाउँलेहरू गर्वले उचालिन्थे । हुँदा–हुँदा विद्यालयले आफ्नो पहिलो शैक्षिक सत्र पनि पूरा ग¥यो । भव्यताका साथ विद्यालयको वार्षिकोत्सव समारोह सम्पन्न गर्ने कार्यक्रम बन्यो । वार्षिकोत्सव समारोहका दिनमा ठाँटबाँटका साथ बखतबहादुर पनि विद्यालय भित्रिए र बोल्नका लागि समय मागे । बखतबहादुरले विद्यालयको लागि पाँच हजार रुपैयाँ तिरेर प्रमुख आजीवन सदस्य बने । सबैतिरबाट ताली पिटियो । हिजो विद्यालयको लागि राम्रो नसोच्ने बखतबहादुरको यस्तो कार्य देखेर उनलाई चिन्ने जति सबै आश्चर्यचकित भए ।
विद्यालयले आफ्नो धेरै वर्ष बितायो । विद्यालयको रजत जयन्ती मनाउने बेला पनि आयो । रजत जयन्ती समारोहमा विद्यालयप्रति सेवा, सहयोग र अमूल्य योगदान गरे बापत बखतबहादुरलाई प्रमुख अतिथिका हातबाट दोसल्ला ओढाएर सम्मानित गरियो तर विद्यालयको लागि रगत, पसिना र परिश्रमको सिञ्चन गरेर शिक्षाको जग बसाल्ने हर्के, बिर्खे, मैते र सोमेको त्यहाँ कतै र कसैबाट चर्चासम्म चलेन । ( भोर्लेटार, लमजुङ)
प्रतिक्रिया दिनुहोस