नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउने मात्र शहीद

सोमबार, १५ माघ २०७४, १८ : ३८

काठमाडौँ  । शहीद सप्ताहको अन्तिम दिन आज शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झना गरिएको छ ।  काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा चन्द र श्रेष्ठले अमरत्व प्रप्त गर्नुभएको स्थान शोभाभगवतीमा उहाँहरुको तस्वीरमा माल्यार्पण गर्दै शहीद सप्ताह मूल समारोह समितिका संयोजक एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले प्राणदण्ड हुन सक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउने मात्र शहीद हुने बताउनुभयो । 
सभामा समितिका उपसंयोजक एवं महानगरका उपप्रमुख हरिप्रभा खड्गीले विकासका काममा नेतृत्व गरेर शहीदको सपना पूरा गर्नुपर्ने धारणा राख्नुभयो । महानगर वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डंगालले शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

राणाशासनविरुद्ध काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा गोली हानी मृत्युदण्ड दिइएको थियो । बैतडीमा जन्मिनुभएका चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै रामेछापको भंगेरीमा जन्मिनुभएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणाशासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस