संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने योगेश भट्टराई

सफल खबर संवाददाता

बुधबार, १५ साउन २०७६, १५ : ३४
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने योगेश भट्टराई

काठमाडौं । लामो समय मन्त्रीबिहीन पर्यटन मन्त्रालय नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले हाँक्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भट्टराई राष्ट्रपति विद्यादेवी भण्डारीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका हुन् । 
गत फागुन मा तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

लामो समय रिक्त रहेको पदमा भट्टराईको नियुक्तीले सुस्त रहेको पर्यटन मन्त्रालयका गतिबिधि तथा पर्यटन वर्ष २०२० का लागि सकारात्मक प्रभाव पर्ने चर्चा चलेको छ। नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले मन्त्रालयको कामलाई अझ गति दिन मन्त्री नियुक्त गरेका हुन्।
ताप्लेजुङबाट सांसद निर्वाचित एकाउन्न वर्षीय भट्टराई पार्टी एकतापूर्व नेकपा एमालेका प्रचार विभाग प्रमुख थिए।

उनी विद्यार्थी राजनीतिबाट नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। उनी अनेरास्ववियुको अध्यक्ष पनि बनेका थिए । एमाले विभाजित हुँदा उनी वामदेव गौतमले नेतृत्व गरेको नेकपा मालेमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस