प्रधानमन्त्रीले आज फेरि मन्त्री र सचिवसँग बिफ्रिङ लिँदै

सफल खबर संवाददाता

बुधबार, १५ साउन २०७६, ०८ : १३
प्रधानमन्त्रीले आज फेरि मन्त्री र सचिवसँग बिफ्रिङ लिँदै

काठमाडौं । एक साताका लागि सिंगापुर भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयन कार्ययोजनाका विषयमा आज मन्त्री र सचिवहरुसँग बिफ्रिङ लिने भएका छन् । प्रधानमन्त्री ओली आरम र स्वस्थ्य उपचारका लागि साउन १८ मा सिंगापुर जादैछन् । 

त्यस अगाडी नै एकचरण मन्त्री र सचिवसँग मन्त्रालयले बजेट कार्यान्वयनमा बनाएको योजनाको बिफ्रिङ लिने र आवश्यक निर्देशन दिने तयारी प्रधानमन्त्रीले बनाएका हुन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले बिहान १० बजेदेखि मन्त्री र सचिवसँग चालु आर्थिक वर्षको कार्ययोजनाका विषयमा बिफ्रिङ लिन लागेका हुन् ।

चालू आर्थिक वर्षको बजेट कार्यान्वयन कार्ययोजनाका विषयमा प्रधानमन्त्रीले सबै मन्त्रालयका मन्त्री र सचिवसँग पालैपालो बिफ्रिङ लिन लागेका हुन् । प्रधानमन्त्रीलाई मन्त्रालयका सचिवहरुले पावरप्वाइन्ट राखेरै प्रस्तुतीकरण दिने भएका छन् ।

बजेटमा समावेश भएका प्रत्येक कार्यक्रम सम्पन्न गर्ने मिति, कार्यक्रम कार्यान्वयनका लागि जिम्मेवार तथा सहयोगी निकायसहितको कार्ययोजना बनाउन प्रधानमन्त्रीले गरेको निर्देशन पछि मन्त्रालयका सचिवहरुले पावरप्वाइन्ट प्रस्तुतीकरण गर्ने तयारी गरेका हुन् ।

यसअघि मौखिक कार्ययोजना सुनेका प्रधानमन्त्री ओलीले सबैसँग लिखित प्रतिबद्धता खोजेपछि सचिवहरुले लिखित प्रस्तुतीकरण दिन लागेका हुन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार नै अधिकांश सचिवहरुले कार्ययोजना तयारीका विषयमा छलफल पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस