- उषा शेरचन
चेतना शून्य समयका
प्रत्येक आयामहरु
अहम् का खोल ओढेर
स्वविवेक हराएर
छेपारो जस्तै रङ्ग बदलिरहन्छन्
आआफ्नै डम्फू बजाइरहन्छन्
आँखामा पट्टी बाँधेर अन्धाको
–अभिनय गरिरहेको बेला
बजारमा खुकुरी र बन्दुकको
–व्यापार मज्जाले फस्टाइरहेको बेला
हाम्रो कलम र कुचीको अर्थ हराएको छ
हाम्रो कलम र कुचीको मर्म हराएको छ
बलीको बोको भएर
रक्तरंञ्जित
क्रान्तिमा होमिनुपरेका
ती निर्दोष रगतका थोपा थोपाले
हाम्रो क्यानभास लतपतिएको छ
हाम्रो कपीका पानाहरु रंगिएको छ
बुद्धको देशमा रगत उम्लनुभन्दा बढी
–विडम्बना अरु के हुन सक्छ ?
बुद्धको देशमा शान्ति हराउनुभन्दा बढी
–दुर्भाग्यपूर्ण कुरा अरु के हुन सक्छ ?
युद्धः कति घिनलाग्दो र विभत्स हुन्छ भनेर
युद्धः कति कहालीलाग्दो र पीडादायी हुन्छ भनेर
युद्धः कति उजाडलाग्दो र त्रासदीपूर्ण हुन्छ भनेर
जान्दा जान्दै पनि मान्छेले
युद्धलाई अस्वीकार गर्न सकेका छैनन्
युद्धलाइ वहिष्कार गर्न जानेका छैनन्
हामी आफैँ अन्यौल ग्रस्त
–भविष्यको दोसाँधमा उभिएर
हामी आफैँ कर्तव्यलाई
–वर्तमानको झोलामा राखेर
अगाडि बढ्न सकेका छैनौं !
युद्धलाई रोक्न सकेका छैनौं !!
प्रतिक्रिया दिनुहोस