कविता : धेरैधेरै बास्यौँ, अब नबासौँ

सोमबार, १३ साउन २०७६, ११ : ०३
कविता : धेरैधेरै बास्यौँ, अब नबासौँ

– लक्ष्मीप्रसाद कोइराला, इटहरी

हामीहरु
बास्दा बास्दै
धेरै धेरै बास्यौँ
भाले भएर नि बास्यौँ
पोथी भएर नि बास्यौँ
दिनमा पनि बास्यौँ
रातमा पनि बास्यौँ
अहो! बास्दा बास्दै
हामीहरु यति धेरै
बासी सक्यौँ कि मानौँ
वर्तमानका कानहरु टट्टाएर
भविष्यलाई झर्को लागि सक्यो।


तथापि हामी बास्दा बास्दै
बास्न छोड्दैनौँ
बासी रहन्छौँ
घरको धुरी चुहुने छ
त्यहीँ चढीचढी बास्छौँ
गल्ली गल्लीमा फोहर कुचेला छ
सफा गर्दैनौँ त्यहीँ कुदीकुदी
उफ्रिउफ्री बास्छौँ।
आफ्नै देशमै अथाह छ
उल्टै विदेश पुगीपुगी
हामीले बास्दा बास्दै
धेरै धेरै बास्यौँ
मात्रै, बास्यौँ
यहाँ, उहाँ,
जहाँ, त्यहाँ
खुब बास्यौँ
भाले भएर बास्यौं
अनि पोथी भएर बास्यौँ ।
हुँदाहुँदा अब त
साँच्चै मान्छे नै कुखुरा
कुखुरा नै मान्छे सम्झेर
केही सँधियारहरुले
पिल्लर उखेलेर
ढाट तानेर
हामीलाई हा हा भन्दै
लखेट्न खोज्दा चाहिँ
हामी बास्दैनौँ
बरु लुक्छौँ
कुक्कु खेलेझैँ
मतान हुँदी,बुट्यान हुँदी ।


त्सकारण अब बास्नेमात्र होइन
लोकल अन्डा (विकास)दिने
भालेपोथी हुनु पर्छ।
नत्र हाम्रा चल्लाहरु
अन्डा भित्रभित्रै
कुखुरी काँ ! कुखुरी काँ !!
जबर्जस्त रटेर
हावामा निस्किनेछन्
अनि तिनीहरू
माउकोपछि लागेर
चारो चर्ने छैनन्
बास्न कुद्ने छन्
रोड हुँदी,आँगन हुँदी
त्यसकारण
ओ ! साथी हो !!
अब हामीलाई
बास्नेमात्र होइन
“लोकल”अन्डा दिने
भाले-पोथी चाहिएको छ।


अब बास्नु पर्दैन
मिर्मिरेको सङ्केत गर्न
त्यसको लागि भानुचौकमा
घण्टाघर बनिसकेको छ
गाउँसहर-बजारतिर
“आलाराम”को घण्टी
आइसकेको छ।
त्यसैले अब साथी हो!
बास्ने मात्र होइन
“लोकल”अन्डा दिने
भाले-पोथी नै चाहिएको छ।
******

प्रतिक्रिया दिनुहोस