चितवन । नेकपाभित्र स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषय झनै उग्र भएको छ । नेकपाको सचिवालय बैठक यही विषयले परपर धकेलिएको छ । यतिबेला नेकपामा चार जनाले स्कुल विभागको नेतृत्व दावी गरिरहेका छन् । नेतृत्व पंक्तिसमेत विभागको नेतृत्व आफ्नो प्यानलका नेतालाई पार्ने प्रयास गरिरहेका छन् ।
पूर्व एमाले तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, माओवादी तर्फबाट सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुषाल र घनश्याम भुषाल समेतले स्कुल विभागमा दावी गरेपछि अहिले यो विषयले पार्टी एकतामै हलो अड्काएको छ ।
तत्कालीन एमालेमा महासचिवसमेत रहेका ईश्वर पोख्रेल पार्टी एकीकरणपछि महासचिवबाट हटाइएको भन्दै आफूले स्कुल विभाग पाउनुपर्ने दावी गर्दै आइरहेका छन् । जनताको बहुदलीय जनवादको विषयलाई पार्टीको दस्तावेजमा नै राख्न दबाब दिएका ईश्वर पोखरेलसँग पूर्वमाओवादी पंक्ति खुसी छैन ।
नेकपा अध्यक्ष प्रचण्डसहित पूर्वमाओवादी पंक्ति नारायणकाजी श्रेष्ठलाई स्कुल विभाग दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिइरहेका छन् । पोख्रेललाई नै स्कुल विभागको प्रमुख बनाउन प्रधानमन्त्री ओली चाहन्छन्, जसका कारण स्कुल विभागको गाँठो नफुस्कदा पार्टी एकता प्रक्रियाको हलो अगाडि बढ्न सकेको छैन । पोख्रेल र श्रेष्ठले मात्र होइन, घनश्याम भुसाल र वेदुराम भुसालले समेत स्कुल विभागमा दावी गरेपछि नेकपाभित्र यो विषय यतिबेला पेचिलो बन्दै गइरहेको छ ।
किन हुन्छ तानातान ?
एकताअघि एमालेमा स्कुल विभागको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले नै गरिरहेका थिए । उपप्रमुख शंकर पोखरेल थिए । एकतासँगै ओली र पोख्रेलको कार्यविभाजन फरक भयो । पोख्रेल मुख्यमन्त्री बने भने ओली प्रधानमन्त्री । कम्युनिस्ट पार्टीहरूले आफ्नो विचार र सिद्धान्तलाई तल्लो तहसम्म फैलाउने एउटै माध्यम हो स्कुल विभाग । विचार र सिद्धान्तलाई तलसम्म लैजान स्कुल विभाग गठन भएको हो । यो ठाउँमा मनलाग्दी भाषण हुँदैन । पार्टीको सिद्धान्त र विचारको आधारमा तलको कार्यकर्तासम्म प्रशिक्षण गर्नुपर्छ । तलका कार्यकर्तासम्म विचार र सिद्धान्त प्रस्तुत गर्दा विभाग नेतृत्वको हाइट बढ्ने हुनाले पनि यस ठाउँमा हानथाप बढेको नेताहरु बताउँछन् ।
नेकपाको नियमावलीले नै पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप स्कुल विभाग सञ्चालन गर्ने भनेको छ । कार्ययोजना बनाउने, वैचारिक स्तर उठान गर्ने, प्रशिक्षक तथा विशेषज्ञ तयार पार्ने काम यस विभागको हुन्छ । युवावर्गको साथ र सहयोगले माथि उठ्न सक्ने विश्वासले पनि नेताहरु यस विभागतर्फ लोभिएका छन् । स्कुल विभागबाट नेतृत्व मिल्ने प्रमुख फाइदा भनेको कार्यकर्तासँग सम्पर्क र समन्वयमा सहजता हो ।
त्यस्तै, पाठ्यक्रम निर्माण गर्ने, प्रकाशन गर्ने, परीक्षा लिने तथा प्रमाणपत्र दिने काम पनि विभागले गर्न सक्ने नियमावलीमा छ । स्कुल विभागले विदेशका स्कुल विभागहरूसँग पनि समन्वयमा काम गर्न सक्ने प्रावधान छ ।
यसअघि कसले लिए ?
पूर्व एमालेमा मोदनाथ प्रश्रितले लामो समय स्कुल विभागको नेतृत्व गरेका थिए । उनैले पाठ्यक्रम बनाउने र प्रशिक्षण दिने कामको सुरुआत गरेका थिए । प्रश्रित अघि मदन भण्डारीले नै स्कुल विभागको प्रमुख भएका थिए । झन्डै दुई वर्ष युवराज ज्ञवालीले पनि स्कुल विभाग प्रमुख भएर काम गरे। आठौं महाधिवेशनपछि एक वर्ष जति तत्कालीन अध्यक्ष झलनाथ खनाल आफंैले विभाग प्रमुखको जिम्मा लिए । उनले वेदुराम भुसाललाई उपप्रमुख बनाए । त्यसपछि नभ्याएको भन्दै खनालले भुसाललाई पूरै जिम्मा दिएका थिए ।
नेता बेदुराम भुसालले पनि पूर्वएमालेमा साढे चार वर्ष विभागको नेतृत्व गरेका थिए । पहिलाको अनुभव देखाउँदै बेदराम भुसालले अहिले पनि स्कुल विभागमा दावी गरेका हुन् । पूर्व एमालेका माधव नेपाल, झलनाथ खनाल, केपी शर्मा ओलीलाई पनि स्कुल विभाग सञ्चालन गरेको अनुभव छ ।
तत्कालीन माओवादीमा भने शान्ति प्रक्रियामा आएको धेरै समयपछि मात्र स्कुलको अभ्यास भएको पाइन्छ । सुरुमा आवश्यक पर्दा पार्टीका शीर्ष नेताहरूले पार्टी नेताकार्यकर्तालाई केन्द्रदेखि जिल्लासम्म केन्द्रीकृत गरी प्रशिक्षण दिने काम गर्ने गरेका थिए । तर २०६५ पछि मात्र विभागको अभ्यास भएको देखिन्छ । सुरुमा माओवादी धारमा ‘स्वनाम साथी’ले विभागको नेतृत्व पाएका थिए । त्यसपछि नारायणप्रसाद शर्मा, हेमन्तप्रकाश वली हुँदै नारायणकाजी श्रेष्ठले विभागको नेतृत्व पाएका थिए । ०७२ सालदेखि माओवादीमा श्रेष्ठ नै विभाग प्रमुख भए ।
जबजको सकस
जबजको सकसका कारण पूर्व माओवादी आफ्नो पक्षमा स्कुल विभाग पार्न चाहन्छ । नेकपाभित्र पूर्व एमालेलाई स्कुल विभागको जिम्मेवारी दिए जनताको बहुदलीय जनवाद (जबज) अगाडि बढ्ने भय पूर्व माओवादीलाई छ । ईश्वर पोखरेलले पार्टीको दस्तावेजमा ‘जबज’ नलेखिएको भन्दै छपाइ नै रोकेकाले स्कुल विभागको नेतृत्व दिन नहुने पूर्व माओवादी पक्षका नेताको भनाइ छ । यसकारण पनि पूर्वमाओवादी ईश्वर पोख्रेललाई स्कुल विभाग दिन चाहेको छैन । सकेसम्म नारायणकाजी श्रेष्ठ नभए पनि स्कुल विभागमा तेस्रो व्यक्ति ल्याउन खोजेको छ पूर्वमाओवादीले । नेकपाको राजनीतिक दस्तावेजमै ’जनताको बहुदलीय जनवाद’ नभनेर ‘जनताको जनवाद’ भनिएको छ । पूर्व एमालेका नेताहरू भने माओवादीले जबजको नीति सिद्धान्ततः स्वीकार गरेर पनि जबज शब्द नरुचाएकोमा असन्तुष्ट छन् ।
आ–आफ्नै दाबी
नारायणकाजी श्रेष्ठ निकट एक नेताका अनुसार अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा नारायणकाजीलाई स्कुल विभागको जिम्मेवारी दिन प्रस्ताव गरेका थिए । ‘अहिले पार्टीको दस्तावेज सैद्धान्तिक र राजनीतिक पाटो नारायणकाजीले लेख्नुभएका हो । माधव नेपालको संयोजकत्वमा राजनीतिक दस्तावेज बनाउन उहाँको भूमिका छ,’ श्रेष्ठ निकट एक नेता भन्छन्, ‘संगठन विभाग वामदेवले पाउने भएपछि सचिवालयमा भएका र मन्त्री नभएका नाताले नारायणकाजीले पाउनु स्वाभाविक हुन्छ ।’
अर्का आकांक्षी नेता ईश्वर पोखरेलले भने आफूलाई स्कुल विभागको जिम्मेवारी दिन नखोज्नु अध्यक्ष केपी ओलीमाथिको घेराबन्दीका रूपमा बुझेका छन् । आफू विगतमा पार्टी महासचिव रहेको र अहिले हटाइएको अवस्थामा स्कुल विभागमा स्वाभाविक आफ्नो दाबी हुने उनी तर्क गर्दै आएका छन् ।
नेकपामा जबजमै विद्यावारिधि गरेका बेदुराम भुषाल र मार्क्सवादी स्कुल सञ्चालन गर्दै आएका घनश्याम भुषालको पनि स्कुल विभागमा दाबी गरिरहँदा नेकपा अध्यक्ष ओली तथा प्रचण्डले नै स्कुल विभाग लिने चर्चा पनि यतिबेला चलिरहेको छ ।
अब के हुन सक्छ ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ । स्कुल विभागको जिम्मेवारीका विषयमा विवाद भएपछि सचिवालय बैठक दुई पटक स्थगित भइसकेको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको परामर्समा महासचिव विष्णु पौडेलले आइतबार दिउँसो बैठक बोलाएका छन् । सचिवालय बैठकअघि आइतबार बिहान छलफल गर्ने स्रोतको भनाइ छ । स्कुल विभागमा दुई अध्यक्षबीच नै धारणा बाझिएपछि पूर्वएमाले र पूर्वमाओवादी समूहबीच तीव्र विवाद देखिएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ईश्वर पोखरेल र पूर्वप्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठ प्रकाशलाई स्कुल विभागको प्रमुख बनाउन खोजेका छन् । दुवै पक्षबीच कुरा नमिलेपछि अब दुई अध्यक्षबीच फरक फरक विकल्पमा छलफल हुनेछ । स्कुल विभाग आफै दुवै अध्यक्षले राख्ने, महासचिव पौडेललाई दिने वा तेस्रो विकल्पको रुपमा झलनाथ खनाललाई दिन सक्ने स्रोतको दावी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ साउन २०७६, १५ : ०५
लेखकबाट थप