यसरी पक्राउ परेका रहेछन् माइला लामा ?

सफल खबर संवाददाता

विहीबार, ०९ साउन २०७६, ०७ : २६
यसरी पक्राउ परेका रहेछन् माइला लामा ?

काठमाडौं । चर्चित जनवादी कलाकार तथा विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा शनिवार मध्यराती पक्राउ परे । काठमाडौं र भक्तपुरको सिमानामा रहेको पेप्सीकोलाबाट लामा पक्राउ परेका हुन् । उनी पार्टीभित्रकै नेताहरुको कमजोरीका कारण पक्राउ परेको अनुमान विप्लव नेकपाले गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर सहित धादिङ, नुवाकोट र रसुवा जिल्ला समेत ६ जिल्लाको भूगोललाई मिलाएर विप्लवको पार्टीले उपत्यका ब्यूरो बनाएको थियो । त्यसैका इन्चार्ज थिए – माइला ।

पार्टी प्रतिबन्धपछि एकपटक मध्यकमाण्डको बैठकका लागि ९ दिन उपत्यका छोडेपनि त्यसयता लामा काठमाडौं उपत्यकाभित्रै थिए । ललितपुरको एनसेल विस्फोटकाण्ड, धुम्बराहीको वैदेशिक रोजगार ब्यवसायीको घरमा भएको विस्फोट र आफ्नै पार्टी कार्यकर्ताको निधन हुने गरी भएको आन्तरिक दुर्घटना लगायतका घटनालाई लिएर प्रहरीले माइलाको खोजी तिव्र बनाएको थियो । तर पनि उनी सावधानीपूर्वक जोगिदै आएका थिए । तर शनिवार मध्यरात पेप्सीकोलास्थित सेल्टरमा सुतिरहेका बेला भने माइला पक्राउमा परे । प्रहरीले उनलाई काभ्रेबाट सार्वजनिक बसमा आएर त्यहाँ बसेका बेला पक्राउ गरेको बताएपनि उनी काभ्रेबाट त्यसदिन आएकै थिएनन् । उनी काठमाडौं उपत्यकाभित्रै थिए ।

पक्राउ परेका दिन उनले जनसांस्कृतिक क्षेत्रमै रहेका आरोह नेपाली सहित अन्य केही कलाकारलाई भेट गरेका थिए । थुनचेक बहसका लागि जिल्ला अदालत ललितपुर लगिएका बेला माइलाले एक कार्यकर्तालाई दिएको जानकारीका आधारमा त्यसदिन माइलाले पार्टीकै कर्मचारी संगठनका नेता गोपाल धामीलाई पनि भेट्ने योजना बनाएका थिए ।

दिउँसो ४ बजेका लागि माइलाले धामीसँग भेटको योजना बनाएका थिए । तर धामीको मोबाइल दिउँसो ३ वजेबाटै स्वीच अफ थियो । जसकाकारण उनीहरुका बीचमा भेटघाट हुन पाएको थिएन ।

बिरामी अवस्थामा रहेका माइलाले आरोह नेपालीसँगको भेटपछि औषधी पनि किन्न पठाएका थिए । पक्राउ परेकै घरमा उनले केही भेटघाट पनि गरेका थिए । तर त्यो माइलाको कोठा भने थिएन । उनी त्यस दिन उक्त घरमा सेल्टर मात्र लिएका थिए । दिउँसो त्यही घरमा भेटघाट गर्ने र राती सेल्टर पनि त्यही घरमा बसेका कारण उनी पक्राउ परेको हुन सक्ने अनुमान पनि माइलाले गरेका छन् । तर यही कारण आफु पक्राउ परे भन्ने कुरामा माइलाले अझै सोच्न सकिरहेका छैनन् ।

विप्लव नेकपाका एक नेताले सफल खबरसँग भने, –‘धेरै मान्छेसँग सम्र्पकमा बस्न रुचाउने र भेट्ने उनको बानीले नै उहाँलाई प्रहरीले पक्राउ गर्न सक्यो ।’ माइलालाई धेरैले सजिलै चिन्ने र हुलिया बदलेर बस्ने र हिड्न खोज्दा पनि सजिलै मान्छेहरुले चिनिहाल्छन् । त्यसको कारण हो, जनयुद्ध कालमै भंयकर विस्फोटमा परी उनको गुमेको आखा, नसुन्ने कान र गुमेका हातका औलाका कारण पनि उनलाई पछ्याउन प्रहरीलाई सजिलो थियो भने माइलालाई हुलिया बदल्न गाह्रो ।  

उनलाई जिल्ला अदालतले अहिले पूर्पक्षका लागि जेल चलान गरेको छ । उनी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली (सुर्दशन) रहेकै जेलमा मंगलवार चलान भएका छन् । मध्यरात पक्राउ गर्न आफु बसेको घर घेराउ गर्न प्रहरी आएको सुइँको पाएपछि भने माइलाले कतै मुठभेडका नाममा हत्या गर्ने त होइनन् भन्ने ठानेर सुतेको कोठाको झ्याल खोलेर ठूलो स्वरमा कराएर आफनो परिचय दिदै होहल्ला गरेका थिए । त्यसो हुँदा आफुलाई मार्न नसक्ने ठानी उनले त्यस्तो गरेको पनि माइलाले आफुलाई भेट्न पुग्नेहरुलाई बताएका छन् ।

प्रहरीले आफु बसेको घर घेराउ गरेपछि उनले शुरुमै पार्टी नेता आजादलाई फोन गरी आफु बसेको घर प्रहरीले घेरेको र पक्राउ परेको जानकारी गराएका थिए ।

‘मैले पहिले पार्टी नेता आजादलाई फोन गरे, घर प्रहरीले घेरेको जानकारी गराए, त्यसपछि आफुले बोकेका ३,४ ओटा मोबाइलका सिम टुक्राटुक्रा पार्ने काम गरे, प्रहरीले त्यसबाट सूचना पाउन नसकोस भन्ने सोचले त्यसो गरे, कतै मुठभेडका नाममा हत्या पो गरिदिन्छन् की भन्ने ठानेर कोठाको झ्यालको सिसा खोलेर मध्यरातमा आफनो परिचय दिँदै ठूलो स्वरमा कराए, त्यसपछि वरपरका मानिसहरुले बत्ती वाल्ने, उठ्ने गर्न थालेका थिए,’ माइलालाई जिल्ला अदालतमा थुनचेक बहसका लागि लगेका बेला भेटेका नेकपाकै एक कार्यकर्ताले उनको भनाई उदधृत गदै भने ।

माइला पक्राउ पछि उनलाई सिधै प्रहरीले वीर अस्पताल पु¥याएको थियो । आफु बिरामी अवस्थामा रहेको बताएपछि उनलाई प्रहरीले अस्पताल लगेको र त्यहीबाट राती नै श्रीमती मनु तामाङलाई भेटका लागि प्रहरीले बोलाईदिएको थियो । पक्राउ परेको रात उनलाई वीर अस्पतालमै राखेर प्रहरीले जावलाखेल लगेको थियो । त्यहाबाट उनलाई जिल्ला अदालतमा हेमन्तलाई नै लागेको मुद्धाको फरार अभियुक्तका रुपमा वयान लिएर थुनचेक बहसमा लगेको थियो । त्यसपछि अदालतले उनलाई पूर्पक्षमा जेल चलान गरेको हो । 

प्रतिक्रिया दिनुहोस