राष्ट्रिय शान्तिको बाधक विप्लव : गृहमन्त्री बादल

सफल खबर संवाददाता

मंगलबार, ०७ साउन २०७६, १६ : ३०
राष्ट्रिय शान्तिको बाधक विप्लव : गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले यतिबेला नेपालमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र त्यसका कार्यकर्ताको गतिविधि राष्ट्रिय शान्तिको बाधक बनेको बताएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले विप्लव समूहसँग वार्ता गरेर समस्या समाधान गर्न सरकार तयार रहेपनि विप्लव समूहले वार्ता नचाहेको आरोप लगाए । 

राजनीतिक स्थायित्व नभएसम्म मुलुकमा पूर्ण शान्ति सम्भव नभएको भन्दै गृहमन्त्री थापाले राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको दावी गरे । थापाले विप्लव समूह चुनौतिका रुपमा रहेको भन्दै यो समस्यालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा आफू रहेको बताए । 

‘वार्ताद्वारा समस्या समाधान गर्ने पक्षमा हामी छौँ, तर उनीहरु वार्ताबाट समस्या समाधान गर्ने पक्षमा छैनन्’ मन्त्री थापाको भनाइ छ । उनले विप्लव समूहका गतिविधि नियन्त्रण गर्ने सरकारको दायित्व नै भएको पनि बताए ।

 ‘यसक्रममा विप्लव समूहका ६ सय भन्दा बढी नेता कार्यकर्ता नियन्त्रणमा लिइएको पनि मन्त्री थापाले जानकारी दिए । उनले सरकारले वार्ताको लागि बोलाएपनि उनीहरुले वार्ताका लागि औपचारिक प्रस्ताव नपठाएको भन्दै पछिल्लो समय वार्ताको सम्भावना बढेको बताए ।  

बादलले यस्तो बताइरहँदा विप्लवले भने सरकार वार्ताको पक्षमा नदेखिएको आरोप लगाएका छन् । सरकारले देशलाई जबरजस्त युद्धमा धकेल्न खोजेको समेत उनको आरोप छ ।

‘एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कातिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झूठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जबरजस्त युद्धमा धकेली जनतामाथि शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढावा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ’, विप्लवको विज्ञप्तिमा उल्लेख छ । 

उनले पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा नगरे पार्टीले योजनावद्ध प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस