अनाथ बालबालिकासँग जन्मदिन

आइतबार, ०५ साउन २०७६, १४ : २०
अनाथ बालबालिकासँग जन्मदिन

सुर्खेत । जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन् । ‘केक’ हरेक अवसरमा प्रयोग गरिने सौखिन साधन बनेको छ ।  जन्मदिनको पर्याय बनेको ‘केक’ बाल मस्तिष्कमा निकै गहिरो छाप बनेर बसेको छ ।

‘केक’ ले क्रेजी बनाएर होला, आजभोलि बालबालिका त घरमा हजुरबुबा, हजुरआमा, आमाबाबु, काकाकाकी, मामामाइजु, दाइदिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै आफन्त जन्मेको दिन सम्झाउन थालेका छन् । 
    तर सुर्खेत पश्चिम चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आफ्नो ३८औँ जन्मदिन मानवीय धर्म र संवेदनासँग जोडेर मनाउनुभएको छ । जुन कार्य शहरमा बसेर केक काट्न रहर गर्नेहरुका लागि मननीय छ ।

अध्यक्ष शाहीले शुक्रबार चौकुने गाउँपालिकाको सान्नेघारी माध्यमिक विद्यालय गुटुका १५ टुहुरा (अनाथ) बालबालिकासँग खुशी साटेर जन्मदिवस मनाउनुभयो । जन्मदिवसको अवसरमा उहाँले अनाथ सबै बालबालिकालाई एकसरो कपडा र शैक्षिक सामग्री प्रदान गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो खुशी केकसँग होइन, तिनै अनाथ बालबालिकासँग नैतिकता र जीवन दर्शनका कुरा गरेर साटेँ ।”

भागदौडपूर्ण जिन्दगीमा एकमुठ्ठी खुशी आदानप्रदान गर्न थोरै समय भए पनि टुहुरा बालबालिकासँगै रहेर जन्म दिवस मनाउन पाउँदा मन हर्षित भएको उहाँले राससलाई बताउनुभयो । जन्मदिनमा उपहार लिने नभई दिने चलनको विकास होस् भन्न र गर्नका निम्ति गुटुका अनाथ बालबालिकासँग जन्मदिवस मनाइएको उहाँको भनाइ थियो ।
 
 कर्णालीको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले पाषणवेदको पातमा खीर राखेर ताजा सेलरोटीसँग अचार मिलाएर खाने र दीर्घायुको कामना गर्ने मौलिक संस्कृति कायम राख्न नसक्नु हाम्रै कमजोरी भएको तर्क गर्नुभयो । “विविधतायुक्त जाति, भाषा र संस्कृतिमा नेपालको पूर्वदेखि पश्चिम सबै क्षेत्र समृद्ध छ”, आचार्यले भन्नुभयो, “यसलाई विश्वव्यापीकरण गर्न सकेका छैनौँ ।” (रासस) 

प्रतिक्रिया दिनुहोस