सौन्दर्य गुमाउँदै सौराहा

पक्की घरले विस्थापित गरे परम्परागत थारु घर

आइतबार, १४ माघ २०७४, ११ : ०३
पक्की घरले विस्थापित गरे परम्परागत थारु घर

चितवन । पुरानो थारु बस्ती सौराहामा अहिले थारुका घर भेट्टाउनै मुश्किल पर्छ । खडाईले बारेर खरले छाएका परम्परागत थारु घरलाई आधुनिक शैलीका पक्की घरले विस्थापित गरेका छन् । गाडा गुड्ने गोरेटोहरु कालोपत्रे सडक भएका छन् । वर्तमानमा खुल्ला ठाउँ र हरियालीको अभाव झेल्दैछ सौराहा । विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाले पछिल्ला दिनमा आफ्नो परम्परागत सौन्दर्य गुमाउँदै गएको छ ।

प्रादेशिक राजधानीका रुपमा चर्चामा ल्याउने गरिएको चितवन सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक र पर्यावरणीय दृष्टिले महत्वपूर्ण मानिन्छ । कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन चितवनका चार प्रमुख चिनारी हुन् । पर्यटकीय हिसाबले चितवनलाई नेपालको तेस्रो गन्तव्य मानिन्छ । काठमाडौँ र पोखरापछिको पर्यटकीय गन्तव्य चितवन आउने आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाई सौराहा नै हो ।

विश्वकै दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा, दुर्लभ पाटेबाघलगायतका वन्यजन्तु र यहाँका आदिवासी थारुको जीवनशैली र सँस्कृति अवलोकन गर्न पर्यटकहरु सौराहा आउँछन् । पर्यटकीय सुविधाका नाममा जता पायो त्यतै आफूखुशी निर्माण भएका होटल, रिसोर्ट र आवासीय भवनले सौराहालाई परम्परागत थारु बस्तीबाट आधुनिक शहरमा परिवर्तन गरिदिएको छ ।

आधुनिकताको हावाले छोएपछि सौराहामा बस्ने नयाँ पुस्ताका थारुको लवाइखवाइ र रहनसहन फेरिएको छ । साँझमा हुने साँस्कृतिक कार्यक्रम र बछ्यौलीमा रहेको थारु साँस्कृतिक संग्रहालयमा सिमित हुन पुगेको छ थारु जातिको सँस्कृति । रत्ननगर नगरपालिकाको वडा नम्बर ६ मा पर्ने सौराहामा आएको पछिल्लो परिवर्तनले थारु अगुवा चिन्तित बनेका छन् ।

बछ्यौली माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य वासुदेव चौधरी सौराहा अब पुरानो सौराहा नरहेको बताउँछन् । ‘पहिलेको सौराहाको आकर्षण नै अर्कै थियो । जताततै थारुहरुका घर थिए’ पुराना दिन स्मरण गर्दै चौधरी भन्छन्, ‘पर्यटकका लागि बनाइएका धेरैजसो होटल र लज पनि थारुका घरजस्तै खडाइले बारेर खरको छानो लगाइएका हुन्थे । गाडा र हात्तीमा पर्यटक गाउँ डुलेर थारुको जीवनशैली र सँस्कृति अवलोकन गर्थे । यो सबै अहिले हराइसक्यो ।’

थारुको परम्परागत सँस्कृति हराउने डर भएपछि चौधरीकै अगुवाईमा बछ्यौलीमा थारु साँस्कृतिक संग्रहालय स्थापना गरिएको छ । संग्रहालयमा थारु जातिको सँस्कृति झल्कने परम्परागत कृषि औजार, गरगहना, दैनिक जीवनमा प्रयोग हुने सामग्री राखिएका छन् । अहिले आन्तरिक तथा बाह्य पपर्यटकहरु थारु जातिको कला र सँस्कृति बुझ्नको लागि संग्रहालयमा आउने गरेको चौधरी बताउँछन् ।

‘सौराहामा थारुका घर हराइसके, गाडा चढेर गाउँतिर जानुपर्छ पुरानो शैलीका थारुका घर हेर्न’ चिन्ता व्यक्त गर्दै चौधरी थप्छन्, ‘सिमेण्टका घर बढी भए, खपडाको छानो भएका पुराना घर पाउनै मुश्किल भयो । सौराहामा विकाससँगै साँस्कृतिक अतिक्रमण पनि भएको छ ।’

पर्यटनको विकासले स्थानीय जनताको आयमा वृद्धि ल्याई उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउन सक्नुपर्छ । केही हदसम्म सौराहाले यस्तो परिवर्तन ल्यायो पनि, तर फाइदा लिनेमा गैरआदिवासी बढी देखिए । आदिवासी थारुको बस्ती सौराहामा पर्यटन विकासले केही थारु युवालाई रोजगारी दिएको छ । उनीहरुको रोजगारी वेयरा (वेटर), भान्से (कुक), गाडी चालक (ड्राइभर), पथप्रदर्शक (नेचर गाइड) र माहुतेमै सिमित छ ।

‘केहीले प्रबन्धक (म्यानेजर) तहको जागिर पनि पाएका छन्’ थारु अगुवा चौधरी भन्छन्, ‘तर अधिकांश थारु तल्लो तहमै सिमित भए ।’ थारु समुदायका केही व्यक्तिले होटल, लज र रेष्टुराँ सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

भवन निर्माणको मापदण्ड बनाउन नसक्दा सौराहाको पुरानो सुन्दरता जोगाउन नसकिएको सौराहाका होटल व्यवसायीहरुको भनाइ छ । होटेल, रेष्टुरेण्ट र रिसोर्टका भवन आफूखुशी निर्माण भएको र एकरुपता दिन नसकिएको व्यवसायीहरु स्वीकार्छन् । आचार संहिता बनाएर अब हुने निर्माणलाई व्यवस्थित गर्ने र निर्माण भइसकेका घरको अघिल्लो भागमा एकै प्रकारको रंग लगाएर एकरुपता दिने प्रयास भइरहेको क्षेत्रीय होटल संघ नेपाल चितवनले जनाएको छ ।

सौराहाको इतिहास
सरकारले २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गर्नुपूर्व नै निकुञ्जको जङ्गल क्षेत्रमा २०२२ सालमा टाइगर माउण्टेन समूहद्वारा सञ्चालित टाइगर टप्स होटेलले विदेशी पर्यटक र स्वदेशी राणा तथा राजघरानाका लागि जङ्गल सफारी सुरु ग¥यो । वन्यजन्तु पर्यटनको महत्व बुझेका विदेशी नागरिक जिम एडवार्डले निकुञ्ज स्थापनाभन्दा पहिले नै जङ्गल सफारीसँगै पर्यटनको सुरुवात गरेका थिए ।

निकुञ्जको स्थापनापछि स्वदेशी पर्यटन व्यवसायीले सौराहामा विशेषतः स्वदेशी पर्यटकलाई लक्षित गरी होटेल र रिसोर्ट खोल्न थाले । सौराहाको पर्यटन र जङ्गल सफारीबारे जानकारी दिँदै क्षेत्रीय होटेल संघ, सौराहाका सल्लाहकार एवं चितवन पर्यटन विकास समितिका उपाध्यक्ष गिरीधारी चौधरी भन्छन्, ‘निकुञ्जको स्थापनापछि सौराहामा पूर्वी सेक्टर कार्यालय स्थापना गरी सरकारी तवरबाटै लङ हाउस (पर्यटकले रात बिताउने घर) को व्यवस्था गरी जङ्गल सफारी सुरु भएको हो । विदेशीहरु अहिले पनि परम्परागत शैलीका घरमा बस्न मन पराउँछन् ।’

सरकारले सञ्चालन गरेको लङ हाउसमा पर्यटक आउने क्रम देखेपछि स्वदेशी पर्यटन व्यवसायीले सौराहामा होटेल तथा रिसोर्ट सञ्चालनमा ल्याएको चौधरी बताउँछन् । सौराहास्थित चितवन पार्क फरेस्ट होटलका सञ्चालक चौधरीले सौराहाको पहिलो पर्यटकीय रिसोर्ट होटेल इलेफेन्ट क्याम्प भएको जानकारी दिए । निकुञ्ज स्थापनाको अर्को वर्ष २०३१ सालबाट सौराहामा सुरु भएको पर्यटकीय होटेल र रिसोर्ट स्थापनाको क्रम अहिलेसम्म रोकिएको छैन ।

सौराहामा रहेका एक सयभन्दा बढी होटेलसँग पाँच हजार बेड क्षमता रहेको छ । सुरुमा पर्यटकीय होटल पनि खरले छाएका र खडाइले बारेका आँटीसहितका हुन्थे । अहिले भने त्यस्ता घर कतै छैनन् । २०३४ सालमा सौराहामा विन्डिज होटल खोलेका संघका सल्लाहकार चौधरीले पंखा नभएको, झ्यालसमेत नभएको, होचो ढोका भएको त्यस्ता होटल र लजमा बस्दा पनि विदेशी पर्यटकले कुनै गुनासो नगरेको स्मरण गरे ।

‘मेरो लज पनि खरले छाएको र खडाइले बारेको थियो । खडाइमा माटो र गोबरले लिपेर भित्ता बनाइएको हुन्थ्यो । होचो ढोकामा विदेशी पर्यटकको टाउको ठोक्किन्थ्यो’ उनले सुनाए, ‘धेरै होटलमा एट्याच बाथरुम नै थिएन । पछि बनेका होटल र लजले आधुनिक शैलीमा निर्माण गर्ने प्रतिस्पर्धा बढाएपछि सौराहाले पुरानो सुन्दरता गुमायो ।’

हात्तीसफारीको आनन्द
सौराहामा आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले हात्ती चढेर वन घुम्दै दुर्लभ एकसिंगे गैँडालगायतका वन्यजन्तु हेरेर आनन्द बटुल्छन् । हात्तीमा चढेर वनको भित्री भागसम्म पुग्नु आफैँमा रोमाञ्चक अनुभव हुन्छ । त्यही अवस्थामा गैँडा लगायतका वन्यजन्तु हेर्नु र तस्बिर लिनुको मज्जा शब्दमा सिमित गर्न सकिँदैन ।

स्वदेशी पर्यटकमध्ये नब्बे प्रतिशत हात्ती चढेर गैँडा हेर्न नै आउने गरेको होटेल व्यवसायी दामोदर रेग्मी बताउँछन् । ‘स्वदेशी पर्यटकले बास बस्ने लज र रिसोर्टको खासै छनौट गर्दैनन्, तर विदेशी पर्यटकले भने सकभर कटेज खोज्छन्’ रेग्मी भन्छन्, ‘स्वदेशी पर्यटक सस्तोको लागि होमस्टे खोज्छन् । विदेशीहरु भने फरक अनुभूतिका लागि कटेज खोज्छन् ।’

सौराहामा हात्ती सफारीका लागि निजी क्षेत्रबाट करिब ८० वटा हात्ती परिचालित छन् । हात्तीधनीहरुले सहकारी सञ्चालन गरी प्राइभेट हात्ती बुकिङ काउण्टरको व्यवस्थासहित जङ्गल सफारीलाई व्यवस्थित गरेका छन् । विगतमा निकुञ्जकै सरकारी हात्ती चढेर पर्यटक जङ्गल सफारीमा जाने गरेकोमा विगत दस वर्षयता भने निकुञ्जको विकल्पमा मध्यवर्ती क्षेत्रका सामुदायिक वन अगाडि आएका छन् ।

सौराहाका निजी हात्तीले निकुञ्जमा प्रवेश नपाउने भएकोले सौराहाका होटेल व्यवसायीले आफ्ना पर्यटकलाई मध्यवर्ती क्षेत्रका बाघमारा, चित्रसेन, जनकौली र कुमरोज सामुदायिक वनमा जंगल सफारीका लागि लैजाने गर्छन् । ती सबै सामुदायिक वनलाई गैंडाको वासस्थानका लागि उपयुक्त बनाउँदै लगिएपछि अहिले पनि पर्यटकलाई हात्ती चढेर गैँडा हेर्न ती वनमा पु¥याइन्छ । विगतका वर्षको तुलनामा पछिल्ला वर्षमा सौराहामा जंगल सफारीका लागि स्वदेशी पर्यटक आउने क्रम बढ्दो रहेको व्यवसायीहरु बताउँछन् ।

जंगल सफारी अन्तर्गत हात्ती सफारी, जीप सफारी, डुंगा सयर, जङ्गल हिँडाई, चरा अवलोकन आदि कृयाकलाप समेटिएको छ । स्वदेशी पर्यटक हात्ती चढ्नमै रुचि देखाउँछन् भने विदेशी पर्यटक जङ्गल हिँडाई र चरा अवलोकन गर्न रुआउँछन् । सौराहामा असोजदेखि मंसिरसम्म जंगल सफारीका लागि ‘सिजन’ मानिन्छ । नेपाली पर्यटकका लागि भने सिजन अफ नै हुँदैन, बाह्रैमास सौराहामा पुगिरहेका हुन्छन् जंगल सफारीका लागि ।

क्षेत्रीय होटल संघ नेपाल, चितवनका अनुसार, सौराहाका सबै होटलमा कूल पाँच अर्ब रुपैयाँ लगानी भएको छ । सौराहा आउने पर्यटकमध्ये औसतमा विदेशी पर्यटकले १० हजार रुपैयाँ, सार्क मुलुकका पर्यटकले सात हजार रुपैयाँ र स्वदेशी पर्यटकले पाँच हजार रुपैयाँ एकपटकको बसाईमा खर्च गर्छन् ।

प्रतिक्रिया दिनुहोस