एकताको राजनीतिक प्रतिवेदन टुंग्याइयो : प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, २२ असार २०७६, १७ : ३५
एकताको राजनीतिक प्रतिवेदन टुंग्याइयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको महत्वपूर्ण कडी राजनीति प्रतिवेदन टुंग्याइएको र भोलि नै प्रिन्टमा जाने बताउनु भएको छ ।
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको आइतबार काठमाडौंमा आयोजित महाधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
‘आज बिहानमात्रै बालुवाटारमा प्रधानमन्त्री केपी ओली र मेरोबीचमा एक वर्षदेखि सम्पूर्ण रुपले सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । भोलि त्यो प्रकाशनमा जाँदैछ’ उहाँले भन्नुभयो, ‘पार्टी एकताका सन्दर्भमा यो एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ ।’ 
राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति कुनचाहिँ आधिकारिक हो ? कुन नेताले भनेको पार्टीको लाइन हो ? कुन होइन भन्ने कन्फ्युजनजस्तो देखिएको र अब प्रतिवेदन छापिएर आएपछि सबैखाले कन्फ्युजन हट्ने उहाँले बताउनु भयो ।
‘हामीले पार्टी एकताको घोषणा गर्दा एउटा कुरा बडो सोचविचार गरेर सहमति गरिएको छ । आउने अधिवेशन हाम्रो एकताको महाधिवेशन हुनेछ’ उहाँले भन्नुभयो, ‘एकताको महाधिवेशनमा विचार, राजनीति र नेतृत्व सम्बन्धी निर्णय सहमतिको आधारमा गर्नेछौँ । अल्पमत वा बहुमतको आधारमा गर्ने छैनौँ भनेर हामी सबैले हस्ताक्षर गरेका छौँ ।’ 
एकताको महाधिवेशनपछिमात्रै आवश्यकता प¥यो भने प्रतिष्पर्धामा जान सकिने अध्यक्ष प्रचण्डले बताउनु भयो । अध्यक्ष प्रचण्डले एकतालाई प्रवद्र्धन गर्ने जिम्मेवारी अझै नसकिएको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस