नेपाली काँग्रेसको प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद विषादीमा आएर विसर्जन भएको हो ?

सफल खबर संवाददाता

आइतबार, २२ असार २०७६, १३ : २०
प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद विषादीमा आएर विसर्जन भएको हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतीय तरकारी नाकामा परीक्षण गर्न छाडिएकोमा चर्को विरोधसहित ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद विषादीमा आएर विसर्जन भएको हो रु’ भनी प्रश्न गरेको छ । 

आफ्नै घोषणाविपरीत सरकारले विषादी परिक्षण गर्न छाडेर नागरिककको जीवनमाथि खेलवाड गरेको भन्दै कांग्रेसले विरोध जनाएको हो । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विषादीयुक्त तरकारी र फलफूल प्रवेशमा तत्कालै कडा परीक्षण र नियन्त्रण गर्न माग गरेका छन् । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद विषादीमा आएर विसर्जन भएको हो रु भनेर समेत प्रश्न गरेको छ । प्रवत्ता शर्माले भनेका छन्, ‘निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?’

सरकारले जनताको जीवनसँग खेलवाड गरेर हदैसम्मको नालायकीपन देखाएको कांग्रेसको आरोप छ । तत्काल यो कदमलाई सच्याउँदै विषादी परिक्षणलाई निरन्तरता दिन माग गरेको  छ । नागरिक जीवनप्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने सरकारको जनविरोधी प्रवृत्तिलाई कांग्रेसले गम्भीर रूपमा लिएको शर्माले उल्लेख गरेका छन्।
 
सरकारले भारतीय नाकामा गरिने विषादी परिक्षणलाई रोक्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भइराखेको छ। सत्तारुढ दलका सांसदहरुले समेत सरकारको यो कदमको चर्को आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस