भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादिको परीक्षण स्थगीत गरिनु गलत : नेकपा मसाल

सफल खबर संवाददाता

शनिबार, २१ असार २०७६, ११ : ११
भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादिको परीक्षण स्थगीत गरिनु गलत : नेकपा मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै तरकारी र फलफूलमा विषादिको परीक्षण स्थगीत गरिनु गलत भएको बताएका छन् ।
महामन्त्री सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, भारतीय दवावमा भारतबाट आउने तरकारी वा फलफूलमा विषादिको परीक्षण गर्ने पहिलेको निर्णयलाई सरकारले स्थगित गरेको कार्यलाई नेकपा ९मसाल०ले गलत मान्दछ र त्यो निर्णयको तीव्र शब्दमा भत्र्सना गर्दछ । यसले सरकारको भारतीय साम्राज्यवादप्रतिको सम्झौतापरस्त नीति मात्र होइन, नाङ्गो प्रकारको आत्मसमर्पणको प्रवृत्तिलाई पनि बताउँछ । सरकारको त्यो निर्णयबाट नेपाली जनताको स्वास्थ्यप्रति सरकारको गम्भीर प्रकारको गैरजिम्मेवारीपूर्ण कार्यशैलीलाई पनि बताउँछ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार नै कुनै देशको सरकारलाई अन्य देशबाट आउने खाद्यान्नको परीक्षण गर्ने अधिकार रहन्छ । नेपाल सरकारकाले नेपालमा आउने तरकारी वा फलफूलमा विषादीको परीक्षण गर्ने जुन निर्णय गरेको थियो, त्यो अन्तर्राष्ट्रिय कानुनअनुसारको नै निर्णय थियो । त्यो निर्णयमा परिवर्तनका लागि दवाव दिएर भारत सरकारले आफ्नो साम्राज्यवादी चरित्रको नाङ्गो प्रदर्शन गरेको छ । तरकारी र फलफूलजस्ता सामान्य विषयहहरूमा भारतले दिएको त्यसप्रकारको दवावबाट नेपालप्रति भारतको दवाव वा हस्तक्षेपको नीति अत्यन्त गम्भीर प्रकृतिको भएको कुरालाई बताउँछ । तरकारी र फलफूलको विषय सर्वसाधारणले पनि थाहा पाउने विषयहरू हुन् । तर, वास्तवमा भारतले नेपालको संविधान, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता, सुरक्षा, प्रशासन, परराष्ट्रनीति, अर्थतन्त्र, नागरिकता, जलस्रोत र सीमा आदि सबै विषयहरूमा दशकौँदेखि लगातार हस्तक्षेप वा अतिक्रमण गर्दै आएको छ । तरकारी वा फलफुलको प्रश्नमा अहिले त्यसले गरेको हस्तक्षेप त्यो लामो सिलसिलाको सामान्य, तात्कालीक र प्रकट रूप मात्र हो ।
वास्तवमा नेपालप्रतिको भारतीय साम्राज्यवादको रणनीति अन्तमा नेपालको स्वतन्त्र अस्तित्वलाई नै समाप्त गर्ने हो । वर्तमान सरकारले आफ्नो अस्तित्व समाप्त हुने आशङ्काले भारतप्रति एकपछि अर्को गर्दै आत्मसमर्पणको नीति अपनाउँदै गएको देखिन्छ । त्यसरी भारतीय साम्राज्यवादप्रति सम्झौतापरस्त वा आत्मसमर्पणवादी नीति अपनाएर आफ्नो अस्तित्वको रक्षा गर्न प्रयत्न गर्ने सिलसिलामा देशभित्र त्यस प्रतिको ९वर्तमान सरकारका प्रतिको० जनअसन्तोष बढ्दै गएको र त्यसको जनाधार झन्‌पछि झन् कमजोर हुँदै गएको वास्तविकताप्रति त्यसले ध्यान दिन सकेको पाइन्न । त्यसरी जब त्यसको जनाधार कमजोर हुँदै जानेछ, देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले सजिलैसित त्यसलाई अपदस्त गर्न सक्नेछन् र त्यो दिशातिर उनीहरूले योजनावद्ध प्रकारले प्रयत्न पनि गरिरहेका छन् । त्यसरी वर्तमान सरकारले आफ्नो अस्तित्व रक्षाका लागि जुन प्रकारको सम्झौतापरस्त वा आत्मसमर्पणको कार्यशैली अपनाइरहेको छ, त्यसले नै त्यसको अन्तको लागि आधार तयार पार्ने काम गरिरहेको छ । तर, आफ्नो अवसरवादी चरित्र र अदुरदर्शितापूर्ण दृष्टिकोणका कारणले सरकारले त्यो वास्तविकतालाई ठीकसँग बुझ्न सकिरहेको छैन ।
उपरोक्त प्रकारको पृष्ठभूमिमा एकातिर, सरकारका सबै गलत नीति र कार्यशैलीको विरोध गर्दै, अर्कातिर, देशका बृहत्तर राष्ट्रिय हितको रक्षाका लागि उच्च प्रकारको शतर्कता अपनाउनका लागि नेकपा ९मसाल०ले सम्पूर्ण जनतासित अपील गर्दछ ।

प्रतिक्रिया दिनुहोस