लुटपाटको धन्दा चलाउन विप्लव समूह वार्तामा नआइ जंगल पसेको सरकारको आरोप

दुई तिहाइको सरकारले केके गर्न नपाउने हो लेखेर दिन आग्रह

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, १८ : ३६
लुटपाटको धन्दा चलाउन विप्लव समूह वार्तामा नआइ जंगल पसेको सरकारको आरोप

काठमाडौँ । सरकारले विप्लव समूह वार्ताबाट भागेको आरोप लगाएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।

बास्कोटाले विप्लव समूहले वार्ता नचाहेकाले वार्ता हुन नसकेको बताए । विप्लव समूह वार्ताबाट भागेको भन्दै उनले भने, ‘किन भाग्नुभयो भने वार्तामा आउँदा त केही छैन माग्ने कुरा ।’ उनले विप्लव समूह लुटपाटको धन्दा चलाउँदै जंगली राजमा रमाएकाले वार्तामा आउन नचाहेको दाबी गरे । 

उनले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने चेतावनी समेत दिए । विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः संगठित आतंकवादतर्फ उन्मुख रहेको भन्दै मन्त्री बास्कोटाले सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताए । सो समूहलाई सरकारले बल प्रयोग गरेको नभइ नियन्त्रण र निस्तेज गर्नु दायित्व भएकाले सरकार त्यसबाट पछि नहट्ने पनि उनले बताए । 

कार्यकर्ता छाड् भन्ने तर, हिंसा गरिरहने कार्य स्वीकार्य नभएको उनले बताए । मन्त्री बास्कोटाले भने, ‘लुटपाटको धन्दा जारी राख्नु हुन्छ भने क्षति व्यहोर्ने उहाँहरुले नै हो । हाम्रो अनुरोध छ, क्षतितर्फ नजानुस् । समय छ आउनुस् ।’ दुइ तिहाईको सरकार सिमलको भुवा जस्तो नभएको भन्दै उनले अघि भने, ‘चुनाव लड्ने हुति छैन, १२ वटा सिम फेरेर तर्साएर के हुन्छ ? यसबाट सरकार तर्सिँदैन ।’  उनले विप्लव समूहले क्रान्तिकारी भनेर दक्षिणपन्थको सेवा गरिरहेको आरोप समेत लगाए । 

रक्तपिपासु मानसिकता नेपाली समाजले अस्वीकार गरेको भन्दै मन्त्री बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई चेतावनी दिए । उनले विप्लव समूहले प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा समेत आक्रोश पोखे । मन्त्री बास्कोटाले अघि भने, ‘उहाँहरुले निर्दोष मान्छे मार्दा क्रान्ति र प्रहरीले पक्राउ गर्ने खोज्दा गोली चलाउँदा कोही झुक्किएर पर्न गयो भने दमन ?’

फरक प्रसंगमा मन्त्री बास्कोटाले गुठी विधेयकबारे सरकारले यथोचित समाधान गर्ने बताए । ‘जमिन र संस्कृतिसँग जोडिएका विषय भएकाले सरकार यसको समाधान गर्छ’ मन्त्री बास्कोटाको भनाई छ । 

‘दुई तिहाइको सरकारले केके गर्न नपाउने हो लेखेर दिनुपर्यो । जहाँ संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने कुरा छ त्यो सवै सरकारले गर्छन् नै यो सरकारले पनि गर्छ’ उनले जनताका कुरा सुन्ने बहस गर्ने काम यो सरकारले गरिरहेको बताए । 

आइफा अवार्ड विवादबारे मन्त्री बास्कोटाले सरकारले आइफा अवार्ड नेपालमा गर्न सैद्धान्तिक स्वीकृतिमात्र दिएको बताए । उनले आइफा अवार्डमा सरकार लगानीका बारेमा प्रवेश नै नगरेपनि सरकारले लगानी गर्ने भयो भनेर त्यसै हल्ला फिँजाइएको बताए । 
 

प्रतिक्रिया दिनुहोस