विप्लवलाई हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन निधिको आग्रह

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, ११ : २६
विप्लवलाई हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन निधिको आग्रह

चितवन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेत्रविक्रम चन्द विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन् । 
प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधिले विप्लवलाई हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण बाटोमा आउन आग्रह गरेका हुन् । पूर्वगृहमन्त्री निधिले कसैले पनि आप्mनो राजनीतिक स्वार्थपूर्तिका लागि हिंसा गर्न नहुने बताए । उनले सरकारले पनि विप्लव समूहलाई वार्ताको माध्यमबाट शान्तिपूर्ण बाटोमा ल्याउनु पर्नेमा जोड दिए । 
विगतमा तत्कालीन माओवादीलाई पनि वार्ताकै माध्यमबाट शान्ति प्रकृयामा ल्याएको बताउँदै उपसभापति निधिले भने, ‘विप्लवजी हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउनु पर्छ । सरकारले पनि छलफलको माध्यमबाट शान्ति प्रकृयामा ल्याउनु पर्छ ।’ नेता निधिले सरकारले एकपछि अर्को गर्दै संविधान र संघीयताविरोधी काम गरिरहेको आरोप लगाए । 
गुठी विधेयक, मिडिया काउन्सील विधेयक, चिकित्सा विधेयक लगायतका विधेयकहरु आउनुले पनि सरकार संविधान र संघीयताको विरोधमा अघि बढेको पुष्टि हुने नेता निधिको दाबी छ । नेपाली काँग्रेसले सरकारका नराम्रा कामको संसद र सडकबाट कडा विरोध गरिरहेको उनले बताए । 
उनले कांग्रेसभित्र गुट नरहेको दाबी गरेका छन् । उनले प्रजातान्त्रिक पार्टीमा फरक मत आउनु स्वाभाविक रहेको बताउँदै यसलाई गुट भन्न नमिल्ने बताए । उपसभापति निधिले पार्टी केन्द्रीय समितिको बैठक असार २२ गते बस्ने र लगत्तै नेवि संघको विवाद पनि समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस