वैद्यले तोके पार्टीभित्र तीन कमाण्डर

पूर्वी, मध्य र पश्चिम ब्यूरो गरी वैद्य माओवादीले पार्टीमा तिन ओटा ब्यूरो बनायो

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, ०९ : १५
वैद्यले तोके पार्टीभित्र तीन कमाण्डर

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी संरचनालाई तिन ओटा ब्यूरोमा बदलेको छ । स्थायी समिति सदस्यले कमाण्ड गर्ने गरी उसले पूर्वी, मध्य र पश्चिम ब्यूरो बनाएको प्रवक्ता हरिभक्त कँडेलले सफल खबरलाई बताए ।

उनका अनुसार पूर्वी ब्यूरोमा उनी स्वंय, मध्य ब्यूरोमा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका सिपि गजुरेल र पश्चिम ब्यूरोमा रामसिंह श्रीषले जिम्मा पाएका छन् । यसरी जिम्मा पाउने तिनै जना वैद्य माओवादीका स्थायी समिति सदस्य हुन् । स्थायी समिति ५ जनाको छ । महासचिव वैद्य र अर्का नेता परि थापा सहितको स्थायी समिति वैद्य माओवादीको छ ।

थापालाई भने प्रवास ब्यूरोको जिम्मा दिईएको छ । अर्काे गैह भौगोलिक ब्यूरो पनि बनाईएको छ । यसको जिम्मा भने हेर्डक्वाटरले हेर्ने गरी स्थायी समितिले जिम्मा लिएको छ । स्थायी समितिलाई नै हेर्डक्वाटर्रको रुपमा बुझिने कँडेलले बताए । पार्टीमा देशको संघीय संरचना अनुसारको ७ ओटै प्रदेश संरचना पनि बनाईएको छ । प्रदेश इन्चार्जको जिम्मा भने पोलिटब्यूरो सदस्यलाई दिईएको छ । वैद्य माओवादीले मंगलबार सकिएको केन्द्रीय समिति बैठकबाट थप ७ जना वैकल्पिक पोलिटब्यूरो सदस्य थप गरेको थियो । थप भएका ७ सहित वैद्य माओवादीको पोलिटब्यूरो सदस्यको संख्या २५ पुगेको छ ।

त्यस्तै केन्द्रीय समिति ९५ जना सम्मको बनाउन पाउने विद्यानको ब्यवस्था छ । अहिले ११ जना नेता वैकल्पिक केन्द्रीय सदस्य थपिएका छन् । यो सहित कुल ८६ जनाको केन्द्रीय समिति पुगेको कँडेलले बताए । अझै १७ सिट केन्द्रीय समितिमा खाली नै रहेको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस