नेकपा एकता टुङग्याउन एक पछि अर्काे डेटलाइन

अध्यक्षद्धय ओली–प्रचण्ड केही दिन यता निरन्तर छलफलमा, आज पनि दुई अध्यक्षका बीचमा छलफल हुँदै

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, ०८ : १४
नेकपा एकता टुङग्याउन एक पछि अर्काे डेटलाइन

काठमाडौं । सत्तारुढ दल नेकपामा एकपछि अर्काे गरी देखिन थालेको विवाद हल भएको नेताहरुले बताएका छन् । पछिल्ला दिनमा संगठनात्मक विवाद मात्र होइन, पार्टी राजनीतिक कार्यदिशामै विवाद देखिएपछि प्रक्रियामै अवरोध आएको थियो । तर अहिले यी विषयमा दुई अध्यक्षका बीचमा सहमति जुटिसकेको नेताहरुले बताएका छन् ।

राजनीतिक कार्यदिशामा पछिल्लो पटक देखिएको विवादमा समझदारी जुटेपछि अब यो प्रकाशन कहिले भन्नेमा एउटा निक्यौलमा दुई अध्यक्ष पुग्न बाँकी छ । साथमा गत जेठ २३ मा सचिवालय बैठकमा रोकिएको केन्द्रीय सदस्यहरुको कार्यविभाजन  मा दुई अध्यक्षका बीचमा छलफल प्रारम्भ भएको छ ।

बुधबार पनि दुई अध्यक्षका बीचमा सामान्य कार्यविभाजन छलफल प्रारम्भ भएपनि अध्यक्ष ओलीको अस्वस्थ्यताका कारण आज बस्ने गरि दुई नेता उठेका थिए । सोही अनुसार दुई अध्यक्ष आज पनि छलफलमा जुट्दैछन् ।

पछिल्लो पटक असार मसान्तभित्रै एकताको सबै काम टुङ्गो लगाउने नेताहरुको अर्काे डेटलाइन तय भएको छ । त्यही अनुसारको गृहकार्यमा ओली प्रचण्ड निरन्तर केही दिन यता छलफलमा छन् ।

गत वर्षको जेठ ३ (२०७५ जेठ ३ )मा पार्टी एकता गर्दै राजनीतिक प्रतिवेदन १५ दिनभित्र र तिन महिनाभित्रै संगठनात्मक काम सक्ने गरि नेताहरुले डेटलाइन तोकेका थिए । तर १४ महिनासम्म राजनीतिक प्रतिवेदन छापिएर नेता कार्यकर्ताले अध्ययन गर्न पाएनन, तल्लो तहसम्मै पार्टी एकता पुुग्न सकेन नै, केन्द्रीय समितिमै रहेका ४४१ सदस्यलाई समेत काम दिन सकेन ।

त्यसपछि पार्टीभित्र बाहिर अनेक खाले टिप्पणी हुन थाले । पार्टी शीर्ष नेताहरुको काम गर्ने शैलीको चर्काे आलोचना हुन थालेपछि नेताहरुले नयाँ नयाँ डेटलाइन तोक्न थालेका छन् । पछिल्लो पटक मदन भण्डारीको जन्म दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले नयाँ डेटलाइन तोकेका छन् । उनले अबको असार मसान्तभित्रै सबै एकताका काम टुङग्याउने नयाँ डेटलाइन तोकेका हुन् । उनले पार्टी संसदीय दलको बैठकमा समेत त्यही कुरा उठाएका छन् । ओलीकै कतिपय अनिच्छाका कारण एकता प्रक्रियामा ढिलाई हुँदै आईरहेको थियो ।

अब यो डेटलाइन पनि कार्यान्वयनमा आउँछ, आउँदैन अझै नेता कार्यकर्ताले विश्वास गरिसकेका छैनन । राजनीतिक प्रतिवेदनको विवाद अन्ततः पहिलेकै सहमति अनुसार गर्ने भन्ने वचनबद्धता त प्रधानमन्त्री ओलीले देखाएका छन, तर त्यो ब्यवहारतः हो÷ होइन अझै आशंकाको घेरामै छ । समाजवाद उन्मुख जनताको जनवाद पार्टी कार्यदिशा बनाउने, तत्कालिन पार्टीका कार्यदिशालाई स्थगन गर्ने र महाधिवशेनमा लैजाने सैद्धान्तिक सहमति पछि पार्टी एकता भएको थियो ।

तर, त्यसपछि पनि प्रधानमन्त्री समेत रहेका ओलीले तत्कालिन एमालेले अवलम्बन गरेको कार्यदिशा जनताको बहुदलीय जनवादको कार्यदिशा अवलम्बन गरेर प्रतिवेदन पूर्नलेखन गरेर जानुपर्ने प्रस्ताव गरेपछि नेकपामा कार्यदिशामै विवाद आएको थियो ।

तर अन्य नेताहरुले नै ओलीको त्यस्तो चाहनामा ब्रेक लगाईदिएपछि उनी अहिले पछाडी हटेका छन् । र अन्ततः जनताको जनवादलाई नै अहिले पार्टीको कार्यक्रम बनाउने र दस्तावेजमा पनि त्यही अनुसार उल्लेख गरेर अगाडी जाने बताएका छन् ।

यो पछि अब राजनीतिक प्रतिवेदन दुई अध्यक्ष ओली , प्रचण्डले सामान्य भाषा सम्पादन गरेर प्रकाशन गर्ने समझदारी बनेको छ । यो पछि मात्रै अब सचिवालयको बैठक बस्ने र संगठनात्मक प्रस्तावमा छलफल हुने नेताहरुले बताएका छन् । यो हिसाबले हेर्दा यही महिनाभित्रै राजनीतिक प्रतिवेदन र संगठनात्मक काम टुङग्याउन अझै सकस नै पर्ने देखिएको छ ।

अध्यक्षद्धय ओली, प्रचण्डले पहिले तीन महिना, त्यसपछि थप तीन महिना र त्यसपछि अनेक कम्युनिष्ट पार्टीका सन्र्दभ र दिवसहरुलाई अवसर पारेर मिति नयाँ नयाँ तोक्ने क्रम चलिरहेकै छ । तर त्यो अनुसारको ठोस काम भने हुन सकिरहेको छैन । शीर्ष नेताहरुले यो अवधीसम्म एक पछि अर्काे क्रिया प्रतिक्रिया मात्र जनाउने  तर योजना बनाएर कार्यान्वयन नगर्ने समस्या देखिदै आइरहनुमा नेताहरुकै स्वार्थ केन्द्रीत राजानीतिका कारण यो अवस्था आएको पार्टीभित्र चर्चा चलेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल तीन जना नेताले आफ्नो स्वार्थ र आफु भोलिका दिनमा कहाँ पुग्छु भन्ने हैसियतको खोजीमा रहेका कारण एकता प्रक्रिया लम्बिएको हो । अब नयाँ डेटलाइनमा नेताहरुले आफ्ना स्वार्थ नराखी निश्चित विधि र मापदण्ड बनाएर अगाडी जान खोजे मात्र सबै प्रक्रिया सहज रुपमा अगाडी जाने देखिन्छ । तर स्वार्थ टकराउन थाल्यो भने फेरि पनि नयाँ तिथि तोकिने सम्भावना नआउँला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस