जग्गा समस्या समाधान आयोग बनाउने तयारी

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, १२ : ५९
जग्गा समस्या समाधान आयोग बनाउने तयारी

काठमाडौं । सुकुम्वासी तथा अव्यवस्थित जग्गाको समस्या समाधान गर्न सरकारले फेरी अर्काे आयोग बनाउने तयारी गरेको छ । अधिकार सम्पन्न सुकुम्बासी÷अव्यवस्थित जग्गा समस्या समाधान आयोग गठन गर्ने गरी सरकारले तयारी गरेको छ ।

उक्त आयोग विगतको जस्तो समस्या अध्ययन गर्ने र सरकारलाई प्रतिवेदन बुझाउने मात्र नभई जग्गाधनीलाई ठाउँमै पुगेर पूर्जा वितरण गर्ने अधिकार प्राप्त हुने गरी बनाउन लागेको दाबी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गरेकी छिन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ लोहरौलीमा नापी कार्यालय परासीद्वारा आयोजित गाउँ ब्लक जग्गा धनी पूर्जा वितरण समारोहमा मन्त्री अर्यालले उक्त कुरा बताएकी हुन् ।

‘अहिलेसम्मका १५ वटा सुकुम्बासी आयोगभन्दा अब गठन हुन लागेको १६ औं आयोग अधिकार सम्पन्न हुनेछ, प्रतिवेदन बुझाउने मात्रको आयोग हुने छैन, कार्यविधि बनाएर पठाएपछि स्थलगत रुपमै जग्गाधनी पूर्जा थमाउने हैसियत राख्नेछ,’ उनले भनिन्, ‘जग्गाको समस्या समाधान गर्ने आयोग हुनेछ ।’

भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न सरकार अघि बढेको बताउँदै मन्त्री अर्यालले गाउँ ब्लकको जग्गा धनी पूर्जा वितरण सरकारले अभियान कै रुपमा चलाएको जानकारी दिइन् । जनताको सम्पत्ति सुरक्षित राख्न मालपोत कार्यालयमा अनलाइन प्रणाली शुरु गरिएको उल्लेख गर्दै मन्त्री अर्यालले शुरुमा केही समस्या देखिएपनि अब समाधान भइसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस