प्रचण्ड भेटेर फर्केपछि सिटौलाले किन खोले त्यस्तो रहस्य ?

०६२/०६३ सालको जनआन्दोलन दबाएको र चरम मानव अधिकार उल्लंघन गरेको आरोपमा पूर्व राजा ज्ञानेन्द्रलाई वेलायत जान बन्देज लागेको सिटौलाको खुलासा

सफल खबर संवाददाता

सोमबार, १६ असार २०७६, ०७ : २५
प्रचण्ड भेटेर फर्केपछि सिटौलाले किन खोले त्यस्तो रहस्य ?

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई वेलायत भ्रमणमा रोक लागेको रहस्य काग्रेस नेता कृष्णप्रसाद सिटौलाले खोलेका छन् । आइतबार बिहान नेकपा अध्यक्ष प्रचण्डलाई उनकै निवास खुमलटार पुगेर झण्डै डेढ घण्टा छलफल गरी फर्केका सिटौलाले मध्यान्ह आफ्नै निवासमा काग्रेस निकट पत्रकारलाई बोलाई दही चिउरा खुवाउँदै सिटौलाले पूर्व राजालाई वेलायत भ्रमणमा रोक लागेको रहस्य खोलेका हुन् ।

ज्ञानेन्द्रलाई ०६२/०६३ सालको जनआन्दोलन दबाउने मुख्य योजनाकार र आन्दोलनकारीमाथी दमन गरी मानव अधिकारको उल्लंघन गरेको आरोपमा वेलायतले नोटिस सूचिमा राखेको सिटौलाको आशय थियो । उनले काग्रेस निकट पत्रकारहरुलाई यो विषयमा खोजी समाचार गर्न पनि सुझाएका थिए ।

पछिल्लो चरण सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा चासो देखाएको काग्रेसले सिटौलालाई आयोग अध्यक्ष आफु निकटलाई दिलाउन लविङ गर्न खटाएको छ । सिटौलाले आफनो निवासमा आयोजित दही चिउरा कार्यक्रममा उनले त्यसको खुलासा गदै ज्ञानेन्द्रको प्रसंग सुनाएका हुन् ।

१० वर्षे माओवादी जनयुद्धका क्रममा अधिकाशं समय काग्रेस सरकारको नेतृत्वमा रहेको र यो विषयमा काग्रेस र माओवादी नेता कार्यकर्तामाथी बढी उजुरी आयोगमा परेकोले पनि यसलाई सुल्झाउन र फेरी द्धन्द्ध नभडकाउनका लागि पनि आयोग नेतृत्व आफुहरुले पाउनु पर्ने पक्षमा रहेको ब्याख्या सिटौलाले गरेका थिए ।

यो विषय अत्यन्त संम्वेदनशील भएको र नेकपा अध्यक्ष प्रचण्ड र काग्रेस सभापति शेरबहादुर देउवा दुबै नेता सिरियस छलफलमा रहेको सिटौलाले बताएका थिए । आइतबार बिहान प्रचण्डसँगको छलफलमा पनि आफुले यही विषयमा सहमति प्रयास गरेको बताए ।

काग्रेसले प्रचण्डसँगको सहमतिमा प्रधानमन्त्री केपी ओलीमाथी दबाब बढाएर सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. सूर्य ढुंगेललाई बनाउन चाहेको छ । बेपत्ता आयोग प्रधानमन्त्रीको रोजाईमा र सत्य निरुपणको आफुहरुको रोजाईका पात्रलाई नेतृत्व दिनुपर्नेमा काग्रेसको मत छ ।

प्रधानमन्त्रीले भने आयोग अध्यक्ष गोविन्द कोइराला (बन्दी) लाई बनाउन खोजेका छन् । सिटौलाकै पहलमा गत बिहिबार देउवा र प्रचण्डबीच कुपन्डोलस्थित समिट होटलमा छलफल समेत भएको थियो ।

‘जसरी अहिले पूर्व राजालाई वेलायत सरकारले त्यहाँ भ्रमणमा जान आउन बन्देज जस्तो लगाएको छ, त्यस्तै भोलिका दिनमा अन्तराष्टिय शक्तिकेन्द्रले सत्य निरुपणको मुद्धामा प्रचण्ड जी र शेरवहादुर देउवा जीलाई पनि अपठ्यारो नपार्लान भन्न सकिन्न,’ सिटौलाले भने, ‘त्यही भएर पनि आयोगको अध्यक्ष नेपालको शान्ति प्रक्रियालाई बुझ्ने खालको आवश्यक  पर्छ । यसमा हामी गम्भिर छलफलमा छौं ।’

सत्य निरुपण  र बेपत्ता आयोग सरकारले पहिले पनि बनाएपनि त्यसले काम नगरी चार वर्ष ब्यतित गरेपछि मन्त्रीपरिषदले ति आयोगको म्याद नथपी नयाँ प्रक्रिया शुरु गरेको थियो । अहिले सर्वाेच्चका पूर्व न्यायधिस ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति सरकारले बनाएको छ । सत्यनिरुपण आयोगमा ६३ हजार बढी उजुरी परेका छन् । १० वर्षे माओवादी युद्धका क्रममा टुङ्ग्याउन बाकी शान्ति प्रक्रियाको अब यही एउटा मात्रै काम बाकी छ । बेपत्ता नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र सत्य निरुपणका मुद्धाहरुको सुनुवाई गरी आपसी मेलमिलाप गराउने ।

यो मुद्धालाई अन्तराष्टिय शक्तिकेन्द्रहरुले चलखेल गरी नेपालको परिवर्तन र यसको नेतृत्वकर्ता नेता कार्यकर्तामाथी अनेक दबाब बढाउन खोजेका छन् । त्यही कारण पनि यो विषयमा काग्रेस र तत्कालिन माओवादी नेता कार्यकर्ता अलिक बढी सिरियस भएर छलफलमा रहेको सिटौलाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस