सर्लाहीमा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १५ असार २०७६, १८ : ०१
सर्लाहीमा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् । गोली लागेर स्थानीय सत्यनारायण महतोको मृत्यु भएको छ ।
 
ईश्वरपुर नगरपालिकास्थित बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा डुबेर एक बालकको मृत्यु भएपछि स्थानीयहरु प्रदर्शनमा उत्रिएका हुन् । शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको खाल्डोमा डुवेर मृत्यु भएको थियो । 

बालकको मृत्यु भएको विरोधमा क्षतिपुर्ति माग गर्दै स्थानीयले बालकको शवसहित राजमार्ग अबरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । राजमार्गको अवरोध खुलाउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । सम्झाई बुझाई गर्ने, अश्रुग्यास हान्ने, हवाई फायर गर्ने सबै उपाय अपनाउँदा पनि भीड शान्त नभएपछि गोली चलाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस