आइफा अवार्डबारे आलोचना

सरकारको समीक्षा गर्ने बेला आयो : पूर्वगृहमन्त्री रावल

सफल खबर संवाददाता

आइतबार, १५ असार २०७६, १६ : ५८
सरकारको समीक्षा गर्ने बेला आयो : पूर्वगृहमन्त्री रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वगृहमन्त्री भीम रावलले सरकारको समीक्षा गर्ने बेला आएको बताएका छन् । उनले आइफा अवार्डका लागि सरकारले एक अर्ब रुपैयाँ खर्च गर्नै नहुने पनि बताए ।
काठमाडौंमा भएको एक कार्यक्रममा पत्रकारसामु बोल्दै नेता रावलले भने, ‘काठमाडौं महानगरले ४४ करोड दिने अझ अरु रकम थप सहयोग गरेर एक अर्ब रुपैयाँ भारतीय चलचित्र कलाकारहरुलाई निजी क्षेत्रबाट सँधै आयोजना हुने कार्यक्रम काठमाडौंमा आयोजना गर्न सबै कलाकारहरुलाई हवाइ भाडा, बस्ने खाने सम्पूर्ण खर्चका लागि झण्डै एक अर्ब नेपालले खर्च गर्ने प्रस्तावलाई नेपाल सरकारलाई स्वीकृत गरेको छ । नेपालका चलचित्रकर्मीहरु नेपाली चलचित्रहरुलाई सरकारले कति पैसा दिएको छ ?’
नेता रावलले सरकारले हालै भारतीय चलचित्र अवार्ड आइफा आयोजना गर्न काठमाडौं महानगर पालिका र पर्यटन बोर्डलाई सहआयोजनाको स्वीकृति दिने निर्णय गरेकोमा आलोचना गरे। उनले कार्यक्रम गरेर पर्यटनको विकास हुन्छ भन्ने हल्ला केही केहीले गरेको भन्दै अगाडि भने, ‘केही केहीले पर्टनको विकासका लागि भन्ने गरेका छन्। नेपालले भारतीय चलचित्रकर्मीलाई एक अर्ब लगानी गर्दा कति पर्यटन आउँदै छन् ? कति पर्यटन भित्रिन्छन् ? यो हिसाब दिनुपर्दैन ?’
उनले निजी क्षेत्रले वा भारत सरकारले लगानी गरे नेपालले स्थान उपलब्ध गराउने, सुरक्षा प्रदान गर्न केही सहयोग गर्ने कुरा बेग्लै भएको बताए।
‘सम्पूर्ण खर्च देशले ब्यहोर्ने जुन देशको कर्णाली राजमार्गमा जानुस जहाँ दुई वटा गाडी पास हुन सक्दैन। बाटो कच्ची छ। कति ठाउँमा अस्पताल छैन । देशको हालत यस्तो छ। जनताको कर तिरेर उठाएको पैसा विदेशी चलचित्रको विकासमा खर्च गर्दै छ।’ उनले यस्ता विषय पार्टीमा छलफल गर्नुपर्ने भए पनि नभएको बताए। यसले पार्टीलाई के प्रभाव पार्छ ? जनतालाई के प्रभाव पार्छ ? देशलाई के प्रभाव पार्छ ? यसको लेखाजोखा हुनुपर्ने उनको भनाइ छ ।

उनले सरकारको समीक्षा गर्ने बेला भएकोसमेत बताए। सरकार सञ्चालनको समीक्षा पार्टीले गर्ने भन्दै स्थायी कमिटीले निर्णय गर्दा पनि नभएको बताए। सरकारको हेरफेर हुने सामान्य भएको भन्दै त्यसको विषयमा पनि छलफल हुनुपर्ने बताए। ‘मन्त्रीको हेरफेरको कुरा प्रधानमन्त्रीले टुंगो लगाउने हो, तर पार्टीले नीति बनाउनु पर्छ’ उनले भने । प्रधानमन्त्रीको आलोपालोको विषय पनि सहमित अनुसार हुनु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस