आक्रामक बन्दै एसपी मल्ल : सामातिए चोरीको मोटरसाइकल बेच्नेहरु

सफल खबर संवाददाता

शनिबार, १४ असार २०७६, १६ : ०१
आक्रामक बन्दै एसपी मल्ल : सामातिए चोरीको मोटरसाइकल बेच्नेहरु

चितवन । चोरीको मोटरसाइकल विक्री गर्ने कार्यमा संलग्न ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको बिशेष टोलीले भरतपुर महानगरपालिका २० शारदानगर रानीपोखरीस्थित रोहित मोटर साईकल वर्कशपबाट उनीहरुलाई शनिबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा भरतपुर २१ बस्ने २१ वर्षीय रोहित श्रेष्ठ, बाराको कलैया नगरपालिका ८ बस्ने १९ वर्षीय कृष्ण शाह, कलैया ३ बस्ने १८ वर्षीय महाविर चौधरी र भारतीय नागरिक १४ वर्षीय राजा कुमार रहेका छन् । 

उक्त वर्कशपमा नेपाल तथा भारतबाट चोरीको मोटरसाइकलहरु ल्याई काटी अल्टी पल्टी गरी बिक्री बितरण गर्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानवहादुर मल्लले जानकारी दिनुभयो । वर्कशपमा खानतलासी गरी शंकास्पद अवस्थामा रहेका मोटर साईकल तथा पाटपुर्जाहरु पनि बरामद गरिएको मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार वर्कशपबाट २६ वटा विभिन्न कम्पनीका मोटरसाइकल, ईन्जिन नभएका च्यासिस ८ थान, विभिन्न व्यक्तिका नाममा रहेका ५३ थान विलबुक, च्यासिस नभएको ईन्जिनको ढिक्काहरु ६ थान, ईन्जिन नदेखिएको ईन्जिनका कभरहरु  ९ थान, ग्रेन्डर लगाएर नम्बर मेटाएको च्यासिस ३ थान, नम्बर मेटाएको इन्जिन २ थान, ग्रेन्डर १ थान, सादा नम्बर प्लेटहरु १ बोरा र मोटरसाइकल खोलजोड गर्ने टुल समेत बरामद गरिएको छ । पक्राउ गरिएका व्यक्तिहरु उपर थप अनुसन्धान कार्य भई रहेको एसपी मल्लले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस