संस्थापक नगर प्रमुख मुक्तिलाल चुकेप्रति श्रद्धाञ्जली

सफल खबर संवाददाता

शनिबार, १४ असार २०७६, १० : ०७
संस्थापक नगर प्रमुख मुक्तिलाल चुकेप्रति श्रद्धाञ्जली

चितवन । भरतपुर महानगरपालिकाले संस्थापक नगर प्रमुख मुक्तिलाल चुकेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ । नगर प्रमुख २०३५ सालमा तत्कालीन भरतपुर नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएका थिए । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल शनिबार बिहान चुके निवास पुगेर श्रद्धान्जली प्रकट गर्नुभएको थियो । उहाँसँगै भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, प्रवक्ता अरुणपीडित भण्डारी, वडाध्यक्षहरु, महानगरका विभागीय प्रमुखलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
महानगर प्रमुख दाहालले संस्थापक मेयरको निधनप्रति दुःख प्रकट गर्दै यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभयो । संस्थापक नगर प्रमुखको निधनप्रति गहिरो समवेदना जनाउँदै महानगरपालिकाले नगर सभाको आज शनिबारको बैठक स्थगित गरेको छ ।
महानगर प्रमुख रेनु दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा आज ११ बजेबाट हुने भएको नगर सभालाई स्थगित गरी सो नगर सभा भोलि असार १५ गते बिहान ११ बजेको लागि सारिएको उल्लेख छ । 

विस १९९२ साल कार्तिक १ गते गुल्मी जिल्लाको बामीटक्सारमा पिता ज्योतिलाल चुके र माता गंगादेवी चुकेको कोखबाट कान्छा छोराको रुपमा स्वर्गीय चुकेको जन्म भएको थियो । चुकेको एक छोरी मिनु, तीन भाई छोरा उत्तमलाल, मनेशलाल र सिद्धार्थलाल हुनुहुन्छ ।

उहाँ भरतपुर नगर पञ्चायतको विस २०३५ र २०३९ साल गरी दुई पटक प्रधानपञ्च र बहुदलीय प्रजातन्त्र पुनस्र्थापना पश्चात तेस्रो पटक २०४९ सालमा भरतपुर नगरपालिकाको मेयर पदमा विजयी हुनुभएको थियो । भरतपुर लगायत समग्र चितवनको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुभएका चुके नेपाल रेडक्रस, बालकुमारी मावि लगायतका अन्य सामाजिक संघ संस्थाहरुमा आवद्ध रही समाज सेवामा सधंै अग्रसर रहनुभयो । आज स्व. चुकेको देवघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस