उपमेयर शाहबाट सधैं किन हुन्छ अवरोध ? कांग्रेसका जनप्रतिधि नै भन्छन्, ‘हैरान भइयो’

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०७६, १२ : ००
उपमेयर  शाहबाट सधैं किन हुन्छ अवरोध ? कांग्रेसका जनप्रतिधि नै भन्छन्, ‘हैरान भइयो’

चितवन । भरतपुर महानगरको ठूला र गौरवपूर्ण योजनाहरुलाई अगाडि बढाउन उपमेयर पार्वती शाहको अवरोधका कारण समस्या पैदा भएको छ । जतिबेला महानगरले विकास र गौरवका आयोजनाहरुलाई अगाडि बढाउन छलफल प्रक्रिया अगाडि बढाउँछ, त्यतिबेला नै उपमेयर शाहबाट अवरोध सिर्जना हुँदै आएको छ । 

उपमेयर शाहका कारण विकास निर्माण र योजनाका काम प्रभावकारीरुपमा कार्यान्वयन हुन नसक्दा महानगरवासीहरु नै चिन्तित भएका छन् । उपमेयर शाहको काम गराई र उहाको व्यवहारप्रति स्वयम् कांग्रेसका वडा अध्यक्षहरु नै असन्तुष्ट रहेका छन् । वडाध्यक्षहरु नै उपमेयर शाहबाट पटकपटक विकास निर्माणमा कामहरुमा अवरोध सिर्जना हुँदै आएको बताएका छन् । 

हरेक कुरामा समस्या सृजना गर्ने र बाधा व्यवधानमात्रै खडा गर्ने उहाँको प्रवृत्तिका कारण महानगरको विकासको गतिमा अवरोध सृजना हुन थालेको स्वयम् कांग्रेसका वडाध्यक्षहरु बताउँछन् । उपमेयर शाहले सानोसानो विषयमा अवरोध सृजना गरेका कारणले महानगरको काम कारबाहीमा समस्या सृजना हुन थालेको महानगर प्रमुख रेनु दाहालले  बताउनुभयो । आफ्नै अध्यक्षसँगको विवादसमेत महानगरमा ल्याएर पोख्ने र महानगरमा सधँै झगडामात्रै रहेको देखाउने उहाँको प्रबृतिले समस्या भएको दाहालको भनाइ छ । 

बिहीबार महानगरको बैठकमा उपमेयर शाहबाट भएको अवरोधको कांग्रेसकै वडाअध्यक्षहरुले विरोध गरेका छन् । उनीहरु उपमेयरबाट भएको अवरोधले महानगरवासीमा राम्रो सन्देश नगएको बताएका छन् । 
नियम संगत भएको छलफलमा आफूलाई समयमै खबर गरिएन भनेर उपमेयर शाहले आक्रोश पोखी बैठक बहिष्कार भनेर बाहिरिएपछि उहाँकै पार्टीका वडा अध्यक्षसमेत अचम्मित भएका थिए । 

उपमेयरले कुरै नबुझी बहिष्कार भन्दै निस्कने र आफ्नै घमण्डमात्र धेरै गर्ने गरेकाले सबैलाई समस्या भएको एक वडा अध्यक्षले बताउनुभयो । आफू र आफ्ना अध्यक्षबीचको आन्तरिक समस्या समाधान गर्न नसक्ने अनि महानगरका हरेक काममा अवरोध गर्ने उपप्रमुखको कार्यशैली ठीक नभएको मेयर रेनु दाहालले बताउनुभयो । 

महानगरको ७ गतेको बोर्ड बैठकले १० वटा समिति बनाउने निर्णय गरेको र त्यसमा कांग्रेसबाट चित्रसेन अधिकारी र नेकपाबाट अरुणपीडित भण्डारीलाई सबै जिम्मेवारी दिइएको र त्यही दुई जनाले लत्याएको निर्णय अनुमोदन गर्ने उद्देश्यसहित शुक्रबार बसेको बैठकमा उपमेयरले आफ्नो आक्रोश र कुण्ठा पोखी समस्या सृजना गरेको वडा नं १३ का वडा अध्यक्ष प्रकाश दवाडीले बताए । 

समस्या हुनुको मुख्य कुरो महानगर प्रमुखसँग आक्रोश भन्दा पनि भरतपुर महानगर २१ का अध्यक्ष चित्रसेन अधिकारीसँग उपप्रमुख शाहको विवाद भएको र त्यही बहानामा बैठक बहिष्कार भन्दै हिँडेको उहाँ तर्क गर्नुहुन्छ । 
भरतपुर महानगर २१ का वडा अध्यक्ष चित्रसेन अधिकारीले उपमेयरले बैठकमा आफूसँग आक्रोश पोखी बैठक बहिष्कार गरेको होहल्ला चलाउँदै हिड्नु उचित नभएको बताउनुभयो ।

उपमेयरले समिति बनाउँदा आफूलाई जानकारी नगराएको भन्दै आफूसँग केही गुनासाहरु पोखेको तर कांग्रेसले बैठक बहिष्कार नगरेको उहाँको भनाइ छ । सबै काम सकिएपछि सहमति र छलफलमा पुनः बैठक बस्ने निर्णय गरी आफूहरु त्यहाँबाट बाहिरिएको बताउँदै उहाँले कांग्रेसले बैठक बहिष्कार गरेको हल्ला फिँजाउनु गलत भएको तर्क गर्नुभयो ।

महानगरको छलफल नियमित र नियम संगत रुपमा हुने बताउँदै अधिकारीले  बैठकमा आफूहरुले समस्या सृजना नगरेको बताउनुभयो । सहमतिमै नगरसभा गरिसकेपछि बाँकी काम पनि सबै मिलेर सक्नुपर्ने भन्दै उहाँले अवरोध सृजना गर्न उचित नहुने तर्क गर्नुभयो ।   

उहाँले उपमेयर शाहलाई सम्झाएको बताउँदै महानगरको काम कारबाहीमा आफूहरुको अवरोध नभएको उहाँको भनाइ छ । भरतपुर महानगरमा उपमेयर शाहबाट पटकपटक कहिले के बहानामा त कहिले के बहानामा यसरी अवरोध मात्रै सृजना गरिनुले नियतमाथि नै शंका गर्ने ठाउँ रहेको तर्क उठ्न थालेको छ ।  आफ्नै अध्यक्षसँग कुरा मिलाउन नसक्ने अनि फेरि कांग्रेसले बैठक बहिष्कार गरेको भनी हल्ला चलाएर कांग्रेस पाटीकै बदनाम गर्ने काम उपमेयरबाट भएको वडा अध्यक्षहरु बताउँछन् । 

कांग्रेस पाटीले बैठक बहिष्कार गरेको नभई उपमेयरले मात्रै बैठकमा भाग नलिएको महानगर प्रवक्ता अरूणपीडित भण्डारी बताउनुहुन्छ । असार १० गते नेकपा अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो नगर सभाको उद्घाटन गरेका थिए । 

कसलाई कुनकुन समिति 
गएको असार ७ गते बसेको २९ औँ बोर्ड बैठकले विभिन्न विषयत समितिमा सहमति जुटाउन वडा नं १० का अध्यक्ष भण्डारी र कांग्रेसका तर्फबाट वडा न २१ का वडा अध्यक्ष चित्रसेन अधिकारीलाई जिम्मेवारी दिइएको थियो । त्यसपछि नेकपा तर्फका ३ र कांग्रेसतर्फका ३ गरी ६ सदस्यीय समिति गठन गरी विषयगत समितिबारे पटकपटक छलफलपछि टँुगिएको छ ।  

सहमतिअनुसार नेकपालाई पूर्वाधार बिकास समिति, विधेयक समिति, वातावरण समिति, जिन्सी समिति, सामाजिक बिकास समिति र दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति गरी ६ वटा र कांग्रेसलाई लेखा समिति, आर्थिक समिति, सुशासन समिति र खेलकुद समिति गरि ४ वटा समिति दिने निर्णय भएको थियो । 
उक्त निर्णयबारे कांग्रेसका तर्फबाट जिम्मेवारी लिएका वडा अध्यक्ष अधिकारीले ढिलो जानकारी गराएको भन्दै उपप्रमुखले असन्तुष्टि जनाउँदा बैठक प्रभावित भएको प्रवक्ता भण्डारीले बताउनुभयो । 

प्रवक्ता भण्डारीले भन्नुभयो, ‘आज समितिको फाइनल गराउनुपर्ने भएकाले टुंग्याउने गरी बिहान समितिको बैठक बसेका थियौँ, त्यो बैठकमा अचानक महानगर प्रमुख रेनु दाहाल पनि अर्कै काम विशेषले आउनुभयो । त्यसपछि सबैको सल्लाह अनुसार उपमेयरलाई पनि बोलाउन सबैले पटकपटक फोन गरेका थियौँ, उहाँँले फोन उठाउनुभएन, एकछिनपछि स्वीच अफ गर्नुभयो । त्यसपछि हामीलाई दिएको जिम्मेवारी अनुसार विषयगत समितिको टुंगो लगायौँ ।’ 

उहाँका अनुसार उपप्रमुखले नगरसभामा प्रमुखसँग ढिलो जानकारी दिइयो भनेर असन्तुष्टि जनाउनुभयो, दिनभरी प्रमुख ,वडाअध्यक्षलगायत सबैले सम्झाउने, बुझाउने गरे पनि सम्झनुभएन, नभएपछि बैठक स्थगित भयो । प्रवक्ता भण्डारीले भन्नुभयो, ‘फोन नउठाउनु उहाँको कमजोरी हो, समयमा जानकारी पाउने नपाउने भन्ने विषय उहाँहरुको विषय हो तर आन्तरिक असन्तुष्टिले, व्यक्तिगत स्वार्थपुर्ण असन्तुटिले बैठक नै प्रभावित गराउनु राम्रो भएन ।’

 
 

प्रतिक्रिया दिनुहोस