अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनौति दुवै हो : प्रचण्ड

शुक्रबार, १२ माघ २०७४, १२ : ५३
अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनौति दुवै हो : प्रचण्ड

फाइल तस्बिर

कपिलबस्तु । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अबका पाँच वर्ष बामपन्थीहरुका लागि अवसर र चुनौति दुवै भएको बताएका छन् ।

रुपन्देहीको देवदहमा आयोजित चौंथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने,‘जनताले बामपन्थीहरुलाई विश्वास गरेका छन् । कम्युनिष्टहरुको बहुमत आएको छ । यो राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासनको पक्षमा दिएको अवसर हो । जनताले निकै ठूलठूला अपेक्षा गरेका छन् । राम्रो काम गर्न सक्यौं भने हामीलाई फेरी पनि अवसर आउने छ । सक्छौ कि सक्दैनौं ? यो हाम्रा लागि चुनौति पनि हो । अब विकास र सुशासनको विकल्प छैन, हामीले सक्नैपर्दछ ।‘देशले अब पनि राजनीतिक अराजकता र अस्थिरता सहन सक्दैन, समृद्धिको नयाँ युगतिर हामी जानै पर्दछ’ प्रचण्डले भने,‘जलविद्युत र पर्यटन विकासमा हामीले जोड गर्नुपर्दछ । देवदह गौतम बुद्धको मावलीघर पनि हो । हामीले बुद्ध सर्किटभित्र यसलाई राखेर पर्यटनको विकास गर्नेछौं ।’

प्रचण्डले अहिले तोकिएका प्रदेशका केन्द्र अस्थायी भएको भन्दै प्रदेशका राजधानी नभएको बताए । उनले प्रदेशको राजधानी तोक्ने अधिकार प्रादेशिक संसदलाई मात्र भएको बताए । बिहीबारै नेपालगञ्जमा आयोजित प्रादेशिक महोत्सवमा प्रचण्ड प्रदेशभित्र सबै साधन स्रोत एकै ठाउँमा राख्नु नहुने बताए । उनले एउटै प्रदेशभित्र पनि प्रदेश राजधानी, मन्त्रालय र अन्य सरकारी कार्यालय फरक फरक ठाउँमा राख्नु राम्रो हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस