मेडिकल कलेजको एसएनसीयूमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०१ मंसिर २०८१, १६ : २६
मेडिकल कलेजको एसएनसीयूमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

काठमाडौं। भारत उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भयावह आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ।

घटना शुक्रबार रातिको हो। राति करिब १० बजे अचानक मेडिकल कलेजको एसएनसीयू (स्पेशल न्यूबोर्न केयर युनिट) मा आगलागी भएको थियो। केही मिनेटभित्रै आगोको लप्का र बाक्लो धुवाँले वार्ड भरिएको थियो। त्यसपछि अस्पतालमा कोलाहल र भागदौड मच्चियो।

घटनाको समयमा एसएनसीयूमा ५५ नवजात शिशुहरू रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आगलागीपछि अस्पतालका स्टाफ र त्यहाँ उपस्थित व्यक्तिहरूले निभाउने प्रयास गरे। तर, आगो यति चाँडै फैलियो कि बाहिरतर्फ रहेका नवजात शिशुहरूलाई तत्कालै निकाल्न सकिए पनि वार्डको भित्री भागमा रहेका शिशुहरूलाई बचाउन सकिएन। अस्पताल प्रशासनका अनुसार, ४५ नवजात शिशुहरूलाई सुरक्षित रूपमा निकाल्न सकिए पनि  १० शिशुहरूको आगोमा जलेर र निस्सासिएर मृत्यु भयो। 

 

 

कसरी भयो आगलागी ?
प्रारम्भिक अनुसन्धान अनुसार, विद्युत लाइन सर्ट भएर अक्सिजन कन्सन्ट्रेटरमा आगो लागेको थियो। जसले गर्दा पुरै वार्ड आगोको लप्कामा पर्‍यो। आगलागीको खबर फैलिएपछि अस्पतालका कर्मचारी र त्यहाँ उपस्थित अभिभावकहरूले शिशुहरूलाई बाहिर निकाल्ने प्रयास गरेका थिए। तर, आगो यति तीव्र थियो कि वार्डभित्र जान कसैले हिम्मत गर्न सकेनन्।

 

 

घटनाको जानकारी पाउनासाथ दमकलका गाडीहरू घटनास्थलमा पुगेका थिए। त्यहाँ सेना समेत परिचालन गरिएको थियो। सेना र दमकलकर्मीहरूको मद्दतले करिब एक घण्टामा आगो नियन्त्रणमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जिल्लाधिकारी अविनाश कुमारका अनुसार, एसएनसीयू वार्डमा गम्भीर अवस्थाका शिशुहरूलाई भित्रतर्फ र कम गम्भीर अवस्थाका शिशुहरूलाई बाहिरतर्फ राखिएको थियो। बाहिरतर्फका करिब सबै शिशुहरूलाई सुरक्षित रूपमा निकालिएको उनले बताए। भित्री भागमा रहेका केही शिशुहरूलाई पनि बचाउन सकिएको उनको दाबी छ। यो दुर्घटनापछि अस्पताल शोकमा डुबेको छ। 

 

 

प्रतिक्रिया दिनुहोस