काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) तहको नतिजा प्रकाशन भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।
जस्तै : एसईई स्पेस सिम्बोल नम्बर (see<space>symbol no) टाइप १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।
यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।
यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।
यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् । त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।
परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सकिने व्यवस्था रहेको छ ।
यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । प्रदेश नं १ बाट – ८३ हजार ६ सय १८, प्रदेश नं २ बाट – ७० हजार ५ सय १८, प्रदेश नं ३ बाट – १ लाख दुई हजार, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट– ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट – ३५ हजार ६ सय ३४ र सुदुरपश्चिम प्रदेशबाट – ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०७६, १६ : २८
लेखकबाट थप