रुदानेको सकारात्मक पाटोको अक्षरशः अनुशरण गरौं : वरिष्ठ नेता नेपाल

शनिबार, ०७ असार २०७६, १९ : ०४
रुदानेको सकारात्मक पाटोको अक्षरशः अनुशरण गरौं : वरिष्ठ नेता नेपाल

फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले रुपचन्द्र विष्ट ‘रुदाने’ को सकारात्मक पाटोलाई अक्षरशः अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
 
थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्टको २०औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ‘सादा जीवन र जनपक्षीय नेता’का रुपमा परिचित रुदानेको मूल्य र मान्यतालाई आत्मसात् गरे त्यसले नेपालको विकासमा समेत सहयोग पु¥याउने बताउनुभयो । 

राजनीतिक नेतृत्वले आफैँभित्र आत्मसमीक्षा गर्नुपर्ने समय आएको उल्लेख गर्दै नेता नेपालले जनअपेक्षाअनुसार काम गर्न सकियो कि सकिएन भने राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो । 

उहाँले देशमा व्याप्त गरीबी, अभाव, बेरोजगारी, विकृति, विसङ्गतिको अन्त्य गर्दै ‘सुखी नेपाली सम्मृद्ध नेपाल’ को चाहाना पूरा गर्नका लागि कार्य प्रगतिको समीक्षा र बहसको आवश्यकतामा जोड दिनुभयो ।
 
आर्थिक सम्मृद्धिको नाराले मात्रै नेपालीको चाहना र अपेक्षा पूरा हुन नसक्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले राष्ट्रिय आवश्यकलाई नेतृत्वले बुझ्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले जनचाहना पूरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानी व्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
 
वरिष्ठ नेता नेपालले राष्ट्रिय पञ्चायतलाई उपयोग गरे पनि रुदाने जनमुखी नेता भएकाले  पञ्चायतभित्रै गएर पञ्चायतको विरोध गरेका कारण जेल बस्नुपरेको तथ्य स्मरण गर्नुभयो । कार्यक्रममा रुपचन्द्र विष्ट स्मारक समिति नेपालका अध्यक्ष रामनारायण बिडारीले ‘रुपचन्द्र विष्ट व्यक्ति एक व्यक्तित्व अनेक’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।(रासस) 

प्रतिक्रिया दिनुहोस