रेशम चौधरीलाई १४ किलोको सिक्रीले बाँध्नेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

शनिबार, ०७ असार २०७६, १४ : ०८
रेशम चौधरीलाई १४ किलोको सिक्रीले बाँध्नेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा उपचाररत कैदी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनामा चासो देखाएका छन् । उनले चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन समेत दिएका छन् ।

ओलीले शनिबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर सो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको घटना बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन ।

सामाजिक सञ्जालमा चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति चर्काे आलोचना भएको थियो । समाजवादी पार्टी र राजपाका नेताहरुले पनि यो घटनाबारे आपत्ति जनाएका थिए ।
 

प्रतिक्रिया दिनुहोस