काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काँग्रेस सांसदले नाराबाजी गरेका छन् । नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न पाएनन् । प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय लिएका थिए ।
संसद बैठक सुरु भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेपछि काँग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर प्रधानमन्त्री अघि विपक्षी दलका नेता शेरबहादुर देउवा बोल्न पाउनु पर्ने माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए । तर काँग्रेस सांसदले सभामुखको आग्रहलाई अस्वीकार गर्दै रोस्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका हुन । उनीहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायत माग गर्दै चर्को नाराबाजी गरेपछि अर्को बैठक भोलि (बुधबार) ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएका छ ।
प्रतिक्रिया दिनुहोस