राउटे हेर्न पनि अब कर लाग्ने भयो

सफल खबर संवाददाता

शुक्रबार, २४ जेठ २०७६, १२ : ३१
राउटे हेर्न पनि अब कर लाग्ने भयो

दैलेख । राउने समुदायलाई हेर्न पनि कर लाग्ने भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने आदिवासी  राउटे समुदायको अवलोकनका लागि दैलेखको एक गाउँपालिकाले कर लगाउने भएको हो । दैलेखको गुराँस गाउँपालिकाले राउटे हेर्नका लागि कर निर्धारण गर्ने बताएको छ । 

सुर्खेतसँग सीमा जोडिएको दैलेखको गुराँस गाउँपालिकाले राउटेको बस्ती अवलोकनका लागि टिकटको व्यवस्था गर्न लागेको जनाएको छ । राउटे बस्ती हेर्न धेरै आन्तरिक पर्यटक आउन थालेपछि आफूहरूले टिकटको व्यवस्था गरेको गुराँस गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सुरेन्द्रकुमार महतराले जानकारी दिए । 

गाउँपालिकाले करकै रुपमा टिकटको व्यवस्था गर्न लागेको हो । त्यसबाट भएको आम्दानी भने राउटेकै हितमा प्रयोग गरिने वडाध्यक्ष महतराले  बताए ।

गाउँपालिका अध्यक्ष खेमराज ओलीले राउटे समुदायलाई खुल्ला राख्दा उनीहरूको पहिचान र संस्कृति नै लोप हुन थालेपछि आफूहरूले टिकटको व्यवस्था गर्न लागेको जानकारी दिए । उनले भने  ‘हामीले उनीहरूकै हितका लागि टिकटको व्यवस्था गर्न लागेका हौँ ।’ 
पर्यटकले पैसा दिन थालेपछि राउटेले आफ्नो संस्कृति बिर्सिन थालेको उनको तर्क छ । परम्परागत पेसा समेत उनीहरूले छाडेपछि गाउँपालिकाले राउटेकै सल्लाहमा यस्तो गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस