मसालको महामन्त्रीमा पाँचौं पटक चुनिए मोहनविक्रम सिंह

२४ जना पूर्ण केन्द्रीय सदस्य, ९ जना वैकल्पिक र ९ जना सल्लाहकार समिति चयन

सफल खबर संवाददाता

शुक्रबार, २४ जेठ २०७६, १० : ३७
मसालको महामन्त्रीमा पाँचौं पटक चुनिए मोहनविक्रम सिंह

काठमाडौं । थानकोट त्रिभुवनपार्क छेउमै रहेको ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा नेकपा मसालको पार्टी महाविधेशन सम्पन्न भएको छ । गत हप्ताबाट शुरु भएको महाधिवेशन बिहिवार सकिएको छ । महाधिवशेनले पुनः मोहन विक्रम सिंहलाई नै पार्टी महामन्त्रीमा निर्वाचित गरेको छ । महाधिवेशनबाट सिंहसहित २४ जना पूर्ण केन्द्रीय सदस्य, ९ जना बैकल्पिक र ९ जना सल्लाहकार समितिमा निर्वाचित गरेको नेकपा मसालले जनाएको छ ।

८५ वर्षीय  सिहले पार्टीभित्र यो महािधवेशन सँगै पाँचौं पटक महामन्त्रीमा निर्वाचित हुने अवसर पाएका हुन् । पार्टी र क्रान्तिप्रती समर्पित एउटा बूढो उमेर तर जिम्मा र जिम्मेवारीमा उर्लदो उमेरका कार्यकर्ताभन्दा पनि कैयौं तेज व्यक्तित्व, सदा समयको सदुपयोग गर्न प्रेरणा प्रदान गर्ने गरी उनले फेरि पाचौं पटक पार्टी महासचिवको जिम्मेवारी बहन गरेका हुन् ।

नेपालको कम्यूनिष्ट आन्दोलनका धरोहरका रुपमा परिचित नेता सिंह १९९२ बैशाख ३ गते काठमाडौंको मरुटोलमा जन्मेका थिए । यद्यपी उनको पुख्यौली स्थायी घर भने प्यूठानको ओखरकोट दमदमेमा पर्दछ । सिंहले अर्थशास्त्रमा एम.ए.सम्मको शिक्षा प्राप्त गरेका छन् । उनी २००७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेर प्यूठान तथा सल्यानको मोर्चाहरुमा सहभागि भएका थिए । २००८ सालमा जुद्धोदय पब्लिक हाईस्कूलको प्रथम अध्यक्षमा निर्वाचित भएपछि सिंह्को सार्वजनिक राजनीतिक जीवनको प्रारम्भको थियो । २००९ सालमा भारतीय हस्तक्षेप विरोधी विद्यार्थी आन्दोलनमा एक महिना काठमाडौं भन्द्रगोल जेलमा थुनामा परेका सिंह २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । २०११ सालमा प्यूठानको भ्रष्टाचार विरोधी आन्दोलनमा गिरफ्तार भए पछि उनले २० महिनासम्म जेल जीवन बिताए । सिंह २०१४ सालमा पार्टीको द्वितीय महाधिवेशनमा केन्द्रीय समितिमा निर्वाचित भएका थिए । 

२०१८ सालमा पञ्चायती तानाशाही अन्तर्गत सुरक्षा कानून अन्तर्गत ९ वर्ष जेल जीवन ब्यतित गरे । तर २०१९ सालमा जेलमा रहेको बेलामा पार्टीको तृतीय महाधिवेशनमा पी.वी.मा सिंह निर्वाचित भएका थिए । २०२९ साल देखि भूमिगत रहेका सिंह २०४६ सालदेखि हालसम्म अर्धभूमिगत अवस्थामा छन् । 
२०३१ सालमा ने.क.पा. (मसाल)को चौथो महाधिवेशनमा पार्टीको महामन्त्री निर्वाचित भएका सिंहले २०४१ सालमा रिमको स्थापना सम्मेलनमा सहभागिता जनाएका थिए ।

सर्वप्रथम २०११ मा प्यूठानको किसान समस्या र किसान संघर्ष शीर्षकको प्रथम पुस्तिका प्रकाशित गरेका सिंहले हालसम्म करिब डेढ दर्जन जति पुस्तिकाहरुको प्रकाशन गरिसकेका छन् । जसमा शान्तिपूर्ण आन्दोलन वा सशस्त्र संघर्ष, राजनैतिक आलोचना, नेपाल–भारत व्यापार तथा पारवहन समस्या, विचार विवेचना र विश्लेषण, क्रान्ति वा भ्रान्ति, चार दशक (प्रथम र द्वितीय खण्ड), १२ मई (नाटक), उग्रवामपंथी विचारधाराको खण्डन, विश्व कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, नेपालको राष्ट्रियता (राष्ट्रियता सम्बन्धी लेखहरुको संग्रह), युग नृत्य (खण्ड काव्य र कविताहरु), रिम र माओवादीहरुको कथित जनयुद्ध, पार्टीको पुनर्गठनको समस्या, पार्टी क्लासका नोटहरु, साहित्य र समालोचना, दुई एकांकी । सम्पादन ओशो धार्मिक सम्प्रदाय र समाजमा त्यसको भूमिका, संघीयताका विरुद्ध जस्ता उल्लेखनीय छन् । जलजला उपन्यास, मोहन बिक्रम सिंहका संकलित रचनाहरु करिब ३० खण्ड, उनको आत्मकथा लगायतका पुस्तकहरु निकट भविष्यमा नै प्रकाशित हुने उनको पारिवारिक शुत्रले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस