कोरियन सरकारले भरतपुर महानगरमा ल्याण्डफिल साइटको डीपीआर प्रक्रिया अगाडि बढायो

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, २२ : २४
कोरियन सरकारले भरतपुर महानगरमा ल्याण्डफिल साइटको डीपीआर प्रक्रिया अगाडि बढायो

चितवन । कोरिया सरकारले भरतपुर महानगरपालिकामा ल्याण्डफिल साइटको डीपीआर प्रक्रिया अगाडि बढाएको छ । आज काठमाडौँमा नेपाल सरकार र कोरियनसरकारबीच ल्याण्डफिल साइटको मास्टर प्लानको लागि सम्झौता भएको छ । 
यो सम्झौतासँगै अब भरतपुर महानगरपालिकामा पनि ल्याण्डफिल साइटको डीपीआरको प्रक्रिया अगाडि बढेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भरतपुर महानगरपालिका र कोरियन सरकारको मातहतमा रहेको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग यसअघि एमओयु भएको थियो, अब डीपीआरको प्रक्रिया अघि बढ्ने भएको छ ।’

नेपाल सरकारसँग आज काठमाडौँमा भएको सम्झौतासँगै भरतपुर महानगरको पनि फोहोर व्यवस्थापनको हुन नसक्नुको समस्या दीर्घकालीन रुपमा समाधान हुने महानगर प्रमुख दाहालले बताउनुभयो । 

नेपाल सरकारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्य र कोरियाको केआइटीआइ संस्थाका डाइरेक्टरले नेपालमा ल्याण्डफिल साइटको मास्टर प्लान निर्माणको लागि हस्ताक्षर भएको छ । 

भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्झौतापछि उहाँहरुले भरतपुर महानगरको ल्यान्डफिल साइटको मास्टर प्लानको प्रक्रिया अगाडि बढ्यो भनेर जानकारी गराउनु भएको बताउनुभयो । उहाँका अनुसार फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न भरतपुर महानगर आतुर छ । 

सम्झौतापछि भरतपुर महानगरपालिका र विराटनगर महानगरपालिकाबीच नेपालको फोहोर व्यवस्थापन सुधारको लागि गुरुयोजना निर्माण र सुरुवात्सम्बन्धी सेमिनार भएको थियो । सेमिनारमा भरतपुर महानगरपालिका प्रमुख प्रमुख रेनु दाहालले भरतपुर महानगरमा देखिएका फोहोर समस्याबारे जानकारी गराउनुभएको थियो । उहाँले कोरियाको संस्थासँग भएको सम्झौताअनरुप नै ल्यान्डफिल साइटको मास्टर प्लानको काम धमाधम अघि बढ्ने र समयमै सकिने आशासमेत गर्नुभयो । 

भरतपुर महानगरले गरेको यस अघिको एमओयुमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पोरेशनका तर्फबाट अध्यक्ष सियो जु वनले हस्ताक्षर गर्नुभएको थियो । एक वर्षभित्रमा महानगरको फोहरको अवस्था अध्ययन गरी फोहर फाल्ने क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने भनिएको थियो । 

यसअघि भएको सम्झौताअनुसार फोहरको प्रकृति, मौसमअनुसारको फोहरको अवस्था र त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरिने बताइएको थियो । अध्ययनका लागि रु सात करोड खर्च हुने र सो रकम कोरियाली सरकारले व्यहोर्ने जनाइएको थियो । महानगरपालिकाका प्रमुख रेणु दाहालले चितवनसहित छिमेकी जिल्लाको फोहर व्यवस्थापन गर्नसक्ने गरी मास्टर प्लान बनाउने बताउनुभयो ।

भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहर सङ्कलन हुने गर्दछ । निजी क्षेत्र र महानगरले त्यसको व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाको वडा नं १ देखि ५ र ७ देखि १२ सम्म निजी क्षेत्रले र बाँकी सबै क्षेत्रको फोहर महानगरपालिकाले सङ्कलन गर्दै आएको छ । महानगरमा २९ वडा छन् ।

हाल महानगरपालिका–३ स्थित नारायणी नदी किनारमा फोहर व्यवस्थापन गरिँदै आएको छ । दीर्घकालीनरुपमा यसको व्यवस्थापन गर्न महानगरपालिका–११ स्थित जलदेवी सामुदायिक वनमा १५ बिघा जग्गा छुट्याइएको छ । महानगरले वनलाई क्षतिपूर्तिबापत माडी नगरपालिकामा जग्गा खरीद गरी वृक्षरोपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस