गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको सक्कल मिसिल अख्तियारबाटै गायब, कारबाही गर्ने सर्वोच्चको चेतावनी

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, १९ : २५
गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको सक्कल मिसिल अख्तियारबाटै गायब, कारबाही गर्ने सर्वोच्चको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै असहयोग गरेको भन्दै सर्वोच्च अदालतले कारबाहीको चेतावनी दिएको छ ।

बिहिबार सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नै कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र भ्रष्टाचार मुद्दाको सक्कल मिसिल र अन्य कागजात उपलब्ध गराउन आदेश दिएको हो । 

अदालतले माग गरेको आयोगका काम कारवाहीसम्बन्धी रजिष्टर लगायतका अभिलेख अख्तियारले ५ वर्षदेखि उपलब्ध नगराई न्याय सम्पादनमा बाधा पुर्‍याएको सर्वोच्चले उल्लेख गरेको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले जोशीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने २०६० साल वैशाख २५ गतेको निर्णयसहितको सक्कल मिसिल, फाइलसमेत लिई अदालतमा उपस्थित हुन सचिव स्वयंलाई आदेश दिएको हो । अदालतलाई कागजात नबुझाउनु आपत्तिजनक भन्दै कारवाही तथा सजाय किन गर्नु नपर्ने भन्ने स्पष्टिकरण समेत अख्तियार अधिकारीलाई सोधिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काँग्रेसका नेता गोविन्दराज जोशी तथा उनका छोरा र भाञ्जाको नाममा भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर उक्त मुद्दामा विशेष अदालतले जोशीलाई सफाई दिएपछि अख्तियार सर्वोच्च अदालतमा गएको थियो । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेको बेला २०७१ साल भदौ २९ गते सर्वोच्च अदालतले अख्तियारलाई सक्कल मिसिल उपलब्ध गराउन आदेश दिएको थियो । 

प्रतिक्रिया दिनुहोस