छायाँ सरकारको दबाबले खुल्ला त मलेसियाको रोजगारी ?

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, १४ : ०९
छायाँ सरकारको दबाबले खुल्ला त मलेसियाको रोजगारी ?

काठमाडौं । मलेसिया नेपाली युवाहरुका लागि आकर्षक गन्तव्य मानिन्छ । तर, विगत एक वर्षयता नेपालीहरुका लागि मलेसिया रोजगारी बन्दजस्तै छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले एक वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेको छ । मलेसिया रोेजगारी बन्द र स्वदेशमा पर्याप्त रोजगारीको अवस्था सिर्जना हुन नसक्दा हजारौँ नेपालीहरु बेरोजगार बन्नुपरेकाले मलेसिया रोजगारी खुलाउनुपर्ने भन्दै काँग्रेस सांसद डिला संग्रौला पन्तले यो प्रस्ताव दर्ता गरेकी हुन् ।

‘मलेसिया बन्द हुँदा लाखौँ नेपालीको रोजगारी गुमेको छ । मुलुकले ठूलो रेमिट्यान्स गुमाएको छ । सरकारले स्वदेशमा रोजगारी दिने भनेपनि भाषण र कागजमा मात्रै सीमित छ,’ छाया सरकारकी श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री समेत रहेकी पन्तको भनाई छ । छायामन्त्री पन्तले मंगलबार यस्तो प्रस्ताव दर्ता गरेपछि मलेसिया रोजगारी प्रकरण फेरि चर्चामा आएको छ । 

‘कूटनीतिक माध्यमबाट नेपाली कामदारको हकहित सुरक्षित हुनेगरी सक्दो चाँडो रोजगार खुला गर्नुपर्छ’, छायामन्त्री पन्तले रातोपाटीसँग भनिन्, ‘सरकारकै कारण मुलुकमा बेरोजगारी समस्या विकराल हुँदैछ । सरकारले यहाँपनि रोजगारी सिर्जना गर्न सकेको छैन र मेलेसिया पनि खुलाउन चासो दिएको छैन । यो समस्या तत्काल सम्बोधन हुनुपर्छ ।’ 

श्रम मन्त्रालयका अनुसार गत वर्षको आठ महिनामा ७७ हजारभन्दा बढी युवा मलेसिया गएका थिए । तर, यस वर्षको सोही अवधिमा तीन हजारभन्दा कम रहेको पन्तको भनाई छ । 

‘दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बितिसक्यो । किन र के कारणले मलेसिया खुल्न नसकेको हो रु सरकारले के पहलकदमी गरिरहेको छ रु यसबारे सरकारले संसदलाई जानकारी दिनुपर्छ’ पन्तको माग छ । 
सरकारले भने कामदारलाई अनावश्यक आर्थिक भार नपर्ने गरी मलेसिया पठाउने प्रयास भइरहरेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ गतेअघि स्वास्थ्य परीक्षण, सुरक्षा जाँच भएर कलिङ भिसा आइसकेकाका कामदारलाई श्रम स्वीकृति दिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस