प्रहरीको खोजी सुचीमा रहेका गुण्डा नाइके राधे भण्डारी पक्राउ

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, १० : ३०
प्रहरीको खोजी सुचीमा रहेका गुण्डा नाइके राधे भण्डारी  पक्राउ

धादिङ । प्रहरीको खोजी सुचीमा रहेका गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् ।  भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका प्रदेश ३ प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।

ताल्तीतर्फ जाने बाटोमा हतियार देखाउदैँ  स्थानीयबासीलाई  धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीटोली माथि राधेले आक्रमण समेत गरेका थिए । उनको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको धादिङ प्रहरी स्रोतले जनाएको छ ।  

नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।

दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए । राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई ज्यान मार्ने उद्देश्यसहित गोली हानेका थिए । त्यसपछि राधे चर्चामा आएका थिए ।

यस घटनामा राधे पक्राउ परेपनि राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यतिबेलादेखि नै प्रहरीले राधेलाई खोजी सूचीमा राखेको थियो । 

प्रतिक्रिया दिनुहोस