प्रचण्ड र इरानी राजदूतबीच भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, २२ जेठ २०७६, १९ : ५९
प्रचण्ड र इरानी राजदूतबीच भेटवार्ता

ललितपुर । नेपालका लागि इरानका राजदूत डा. अलि चेगेनीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । अध्यक्ष निवास खुमलटारमा आज अपरान्ह भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकासका बारेमा छलफल भएको थियो ।

नेपालीहरुको संघर्ष र बलिदानले नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै अध्यक्ष प्रचण्डले अब आफूहरुको सम्पूर्ण ध्यान मूलुकको आर्थिक समृद्धिमा रहेको बताए । उनले भने, ‘हामी नेपालमा बैदेशिक लगानीका लागि अनुकुल वातावरण बनाउन चाहान्छौं ।’ अध्यक्ष प्रचण्डले इरान र नेपाल पुराना मित्र राष्ट्र भएको बताए । उनले नेपाल प्राकृतिक रुपमा धेरै सुन्दर देश भएकाले पर्यटन क्षेत्रको विकासका लागि प्रसस्त सम्भावना रहेको औल्याए ।

अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता पश्चात आर्थिक समृद्धिको चरणमा रहेको नेपालका लागि कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए ।

इरानी राजदूत डा.अलिले नेपालमा काम गर्नका लागि आफूहरुसँग राम्रो क्षमता भएको बताए । उनले चिकित्सा शिक्षा, कृषि, खानी लगायतका क्षेत्रमा आफूहरु काम गर्न इच्छुक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस