विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई मुद्दा

मंगलबार, २१ जेठ २०७६, १४ : २७
विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई मुद्दा

रोल्पा । अनुशासनको नाममा कुटेर हात भाँच्ने शिक्षिकालाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइने भएको छ ।  

विद्यार्थीलाई ‘अनुशासन सिकाउने’ निहुँमा पाँच जना छात्राको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ । 

शिक्षिका पुनले विद्यार्थीलाई कुटपिट गरी हात नै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी दीपक खड्काले शिक्षिका पुनलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मेघनाथ चौलागाईंको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो।

शिक्षिका पुनलाई आज जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइँदैछ। आजै जिल्ला प्रशासनमार्फत् अनुसन्धानका लागि म्याद थप गरी अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । 

शिक्षिका पुनमाथि १४ विद्यार्थीलाई कुटपिट गरेको आरोप लागेको छ।  त्यसमध्ये पाँच जनाको हात भाँचिएको छ।

प्रतिक्रिया दिनुहोस