विप्लव पनि यही नेकपामा आएर जोडिनुपर्छ : प्रचण्ड

आइतबार, १९ जेठ २०७६, १२ : ४८
विप्लव पनि यही नेकपामा आएर जोडिनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गर्नुभएको छ ।
    
नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्ने बताउनुभयो । 

उहाँले विप्लव समूहले लिएको बाटो गन्तव्यमा नपुगिने भएकाले यही पार्टीमा आएर मूलप्रवाहीकरण हुनुपर्ने बताउनुभएको हो । सरकारले विप्लव समूहका हिंसात्मक गतिविधिलाई प्रतिबन्ध लगाएको छ । “म अन्य साथीहरुलाई कुनै आग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु । आउनुस् बसेर छलफल र संवाद गरौँ । इतिहास, वर्तमान, राष्ट्र र अन्तर्राष्ट्रिय स्थितिको समीक्षा गरौँ । देश र जनताका आकाङ्क्षा पूरा गरौँ । विश्वलाई समाजवादी आन्दोलनको नयाँ ढाँचा र सन्देश दिउँ । यो ऐतिहासिक आवश्यकता हो” अध्यक्ष प्रचण्डको आग्रह थियो ।

उहाँले भन्नुभयो, “लामो बलिदान र सङ्घर्षबाट नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भई अहिले सत्ताको नेतृत्वमा छ । जनताले ठूलो भरोसा गरेको छ । हामीले सुशासन र समृद्धिको यात्रालाई सफल बनाउनुपर्छ । सामाजिक न्यायसहितको नयाँ ढाँचामा हामी जान खोजेका छौँ । यसलाई असफल बनाउने तमाम प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नुुपर्छ । सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नुपर्छ । पार्टी प्रवेशको शृङ्खला रोकिने छैन ।”

उहाँले सरकारले समाजवादको उद्देश्यमा जोड दिएर नीति कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्र्दै सापेक्षितरुपमा तल्लो वर्ग र उत्पीडित वर्गलाई प्राथमिकता दिएर समाजवादको आधार तयार गरिरहेकाले अन्य समूहका कोही कम्युनिष्टका नाममा छरिएर रहन नपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले वैधानिक, शान्तिपूर्ण बाटोसहित बलियो कम्युनिष्ट पार्टीमा आई अब हिंसाबाट राष्ट्र र जनताको परिवर्तन गर्न सकिँदैन भनेर राई पुनः मूलप्रवाहमा फर्कनु सही समयको सही निर्र्णय भएको उल्लेख गर्दै राईले विगतमा गरेको त्याग, बलिदानका आधारमा आवश्यक भूमिका दिइने वचन दिनुभयो । 
    
आफँैले हुर्काएका छोराछोरी रिसाएर घरबाट बाहिर गएमा अभिभावकलाई चिन्ता परे झैँ पदम राईहरु बाहिर रहँदा आफूलाई चिन्ता लाग्ने गरेकामा आज उहाँ पार्टीमा फर्केकामा खुशी लागेको अनुभव सुनाउनुभयो । पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहनुभएका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । अध्यक्ष प्रचण्डसहित पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा , महासचिव विष्णु पौडेललगायतले राईलाई स्वागत गर्नुभएको थियो ।

नेता राईले देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लव समूहमा लागेको र पछिल्ला समयमा कतिपय घटना र अवस्थाका कारण हिंसात्मक लडाईं गर्दा कुनै शक्तिले केही नपाउने तर  देश र जनताले फेरि दुःख पाउने भएकाले सो समूह परित्याग गरेको बताउनुभयो । 

उहाँले आफू सो समूहमा रहेर सरकारसँगको वार्तामा अग्रसरता लिएको तर त्यो सफल नभएकाले हिंसाबाट एकले अर्कोलाई बदला लिनुभन्दा शान्तिपूर्ण बाटोबाट समाज रुपान्तरणमा लाग्नुपर्ने आफ्नो निचोड रहेको सुनाउनुभयो । उहाँले समृद्धिको सपना पूरा गर्ने दिशामा आफूले एक इँटाको काम गर्ने गरी आगामी राजनीतिक यात्रा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । - रासस

प्रतिक्रिया दिनुहोस