सप्तगण्डकी बहुमुखी क्याम्पसले मिडियाको आधुनिक प्रयोगशाला निर्माण गर्ने

शुक्रबार, १७ जेठ २०७६, १५ : २२
सप्तगण्डकी बहुमुखी क्याम्पसले मिडियाको आधुनिक प्रयोगशाला निर्माण गर्ने

चितवन । भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले आमसञ्चार तथा पत्रकारिता विषयको अध्ययनलाई गुणस्तरीय बनाउन रेडियो र टेलिभिजनको आधुनिक प्रयोगशाला निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

क्याम्पस प्रमुख मणिराज महतोका अनुसार प्रदेश नं ३ सरकारको सहयोगमा प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण खरीद गर्न बोलपत्र आह्वान गरिएको छ । क्याम्पसले रु २४ लाख नौ हजार मूल्य बराबरका  उपकरण खरीदका लागि बोलपत्र आह्वान गरेको हो । ती सामग्रीबाट रेडियो र टेलिभिजनलाई उपयोगी हुने स्टुडियो निर्माण गर्ने पत्रकारिता विषयका सहायक प्राध्यापक मधुसूदन दवाडीले बताउनुभयो । 

उहाँका अनुसार स्टुडियो निर्माणपछि आउँदो वर्ष रेडियोको टावर निर्माण गरिनेछ । यसअघि पनि क्याम्पसले रेडियोका लागि भनेर हरेक वर्ष निश्चित रकम विनियोजन गर्दै आएको थियो । हाल निर्माण हुने स्टुडियोबाट क्याम्पसले अनलाइन रेडियो र टेलिभिजन प्रसारण गर्न सक्नेछ । 

त्यसैगरी विद्यार्थीले सामाजिक सञ्जालबाट पनि मिडियाको श्रव्य, दृश्य सामग्रीहरु प्रसारण गर्न सक्ने आमसञ्चारका सहायक प्राध्यापक दवाडीले जानकारी दिनुभयो । विसं २०६० मा दश जोड दुईमा र २०६४ बाट स्नातक तहमा पत्रकारिता विषयको पढाइ हुँदै आएको छ । 

हाल दश जोड दुईमा करीब दुई सय र स्नातकमा एक सय जना विद्यार्थीले आमसञ्चार तथा पत्रकारिता विषय पढ्दै आएका छन् । क्याम्पसले स्नातकोत्तर तहको समेत पढाइ शुरु गर्नका लागि स्तरीय प्रयोगशाला निर्माण गर्न लागेको हो । 

प्रयोगशाला निर्माण भएसँगै विद्यार्थीहरुलाई अन्य निजी क्षेत्रका रेडियो र टेलिभिजनमा प्रयोगात्मक कक्षाका लागि जानुपर्ने बाध्यता कम हुने दवाडीले बताउनुभयो । बदलिँदो समयको मागअनुसार विश्वस्तरमा प्रतिस्पर्धाका लागि आमसञ्चार अध्ययनलाई अझ व्यावहारिक बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । हाल सो क्याम्पसमा विभिन्न विषयमा गरी करीब चार हजार विद्यार्थी अध्ययनरत छन् । (रासस)

प्रतिक्रिया दिनुहोस