झापामा नेकपाका जिल्ला सेक्रेटरीसहित ४ जना पक्राउ

आइतबार, २६ कार्तिक २०७४, १८ : ०८
झापामा नेकपाका जिल्ला सेक्रेटरीसहित ४ जना पक्राउ


भद्रपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चुनावी विरोधी गतिविधिलाई तिव्रता दिएसँगै झापामा प्रहरीले जिल्ला सेक्रेटरीसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने नेकपाका झापा जिल्ला सेक्रेटरी दीपक गुरुङ, मेची अञ्चल व्यूरो सदस्य दर्शन भन्ने दीपक लताङ्ग्री, सांस्कृतिक मेची व्युरो संयोजक इसलाम भन्ने नवल गजमेर र किसान भातृ संगठनका झापा क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक खोम मिश्र रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। क्षेत्रीय संयोजक मिश्रलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले आइतबार विहान मेचीनगरबाट पक्राउ गरेको छ भने, जिल्ला सेक्रेटरी गुरुङसहित तीन जनालाई बिर्तामोडबाट शुक्रवार पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जनाकारी दिए। उनीहरुलाई झापा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उपरीक्षक केसीले बताए।

पछिल्लो समयमा देशका विभिन्न जिल्लामा चुनाव विरोधी गतिविधिमा उत्रिएका विप्लवका कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गर्ने थालेपछि उनीहरुलाई पक्राउ गरिएको केसीले बताए।

 

प्रतिक्रिया दिनुहोस