कति छ चितवन महोत्सवको आम्दानी ? कहाँकहाँ जाँदै छ सहयोग ?

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, १३ : ०७
कति छ चितवन महोत्सवको आम्दानी ? कहाँकहाँ जाँदै छ सहयोग ?

चितवन । उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सव २०७५ को आयव्यय सार्वजनिक गरेको छ । गत पुष २५ देखि माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन भएको महोत्सवको आयव्यय संघले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

संघका अध्यक्ष सहनलाल प्रधानले १० दिनसम्म भएको चितवन महोत्सवबाट कुल आम्दानी तीन करोड ४४ लाख ५४ हजार ११७ रुपैयाँ ६८ पैसा भएको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘महोत्सवको कुल खर्च दुई करोड ७६ लाख ५४ हजार ३२५ रुपैयाँ ७८ पैसा खर्च भएको छ ।’ उहाँले महोत्सवबाट कुल बचत ६७ लाख ९९ हजार ७९१ रुपैयाँ ९० पैसा (कर तिर्न बाँकी) भएको बताउनुभयो । 

अध्यक्ष प्रधानले चितवन महोत्सवमा हुने आर्थिक कारोवारलाई विगतमा झै करको दायरामा ल्याइएको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले भरतपुर महानगरपालिकालाई प्रत्येक स्टलको १० प्रतिशतका दरले वहाल कर आठ लाख ९५ हजार ९५ रुपैयाँ भुक्तानी गरिसकेको बताउनुभयो । 

यस्तै विक्री भएको प्रवेश टिकटको १३ प्रतिशतले हुने आउने ७ लाख ६९ हजार १७० रुपैयाँ आन्तरिक राजश्व कार्यालयमा भुक्तानी गरिसकेको उवासंघ–चितवनले जनाएको छ । मनोरञ्जन करको रुपमा भरतपुर महानगरपालिका कार्यालयलाई ३ लाख ५० हजार भुक्तानी गर्न बाँकी छ ।  

यस्तै महोत्सवबाट बचत हुन आउने रकमका २५ प्रतिशत आयकर १६ लाख ९९ हजार ९४७ रुपैयाँ ९८ पैसा राजश्व तिर्न बाँकी रहेको र छिटै भुक्तानी गरिने अध्यक्ष प्रधानले जानकारी दिए । पत्रकार सम्मेलनमा चितवन महोत्सवमा पाँच लाख अवलोकनकर्ताले अवलोकन गरेका र २५ करोडको कारोबार भएको बताइएको छ । 

महोत्सवको विभिन्न कार्यक्रममध्ये सबैभन्दा बढी आम्दानी फन पार्क कार्यक्रमबाट आएको थियो, जसमा ७० लाख आम्दानी भएको थियो । १२ औं संस्करणको रुपमा रहेको चितवन महोत्सवमा ५७१ स्टल रहेका थिए । निःशुल्क स्टलको संख्या ४१ थियो । 
यसपटकको महोत्सवमा क्षेत्रगत (शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन) प्रवद्र्धनका लागि छुटै परिसरको समेत व्यवस्था गरिएको थियो । फनपार्क, जलयात्रा, माछाको कलात्मक आकृति, कलात्मक मूलद्वार, नगरवनसम्म जिप सफारी सांस्कृतिक भेषभुषा प्रदर्शनीलगायतका क्रियाकलापहरु समावेश गरिएको थियो । 

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् उद्योग वणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईलगायतले पत्रकारहरुको जिज्ञासा मेट्नुभएको थियो । 

कहाँकहाँ गर्दैछ उवासंघ–चितवनले सहयोग 
उद्योग वाणिज्य संघ चितवनले धुर्मुस सन्तुली फाउन्डेसनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएको छ । विभिन्न चरणमा गरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा एक करोड सहयोग गरिने अध्यक्ष प्रधानले बताउनुभयो ।
यस्तै गणेशधाम निर्माणमा ५ लाख १७ हजार ४४८ रुपैयाँ सहयोग गरिने अध्यक्ष प्रधानले जानकारी दिनुभयो । राष्ट्रिय आधारभूत माविको भौतिक पूर्वाधार विकासमा एक लाख, नेपाल आदिवासी जनजाति महासंघको भवन निर्माणमा एक लाख ५० हजार, सशस्त्र प्रहरी बल कुरिनटार ट्रमा सेन्टर निर्माणमा तीन लाख, ट्राफिक जनचेतना सम्बन्धि होडिङ बोर्ड निर्माणमा ४० हजार, जिल्ला प्रशासन कार्यालय चितवनको उद्यान निर्माणमा १ लाख, नेवाः पुच नारायणगढलाई ७५ हजार, नारायणी कला मन्दिर ७५ हजार र जिल्ला प्रहरी कार्यालय अगाडि विश्रामस्थल निर्माणलाई दुई लाख रुपैयाँ सहयोग गर्ने उवासंघ चितवनले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस