एचआइभी सङ्क्रमित नेपालीद्वारा सगरमाथा आरोहण

रासस

बुधबार, ०८ जेठ २०७६, २० : २७
एचआइभी सङ्क्रमित नेपालीद्वारा सगरमाथा आरोहण

–रोशा बस्नेत

काठमाडौं । एचआइभी सङ्क्रमित पोखरा, रत्नचोकका ५६ वर्षीय गोपाल श्रेष्ठले आज बिहान  सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ सगरमाथाको आरोहण गर्ने पहिलो एचआइभी सङ्क्रमित नेपालीसमेत हुनुभएको जिकिर गरिएको छ । 

उहाँले बिहान ८ः१५ मा सगरमाथामा पाइला टेक्नुभएको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  पूर्वराष्ट्रिय फुटबल खेलाडी  उहाँले ‘स्टेप–अप क्याम्पेन ः सेकेण्ड फेज एभरेष्ट एक्स्पिीडिशन’(अभियान अघि बढाऔँः दोस्रो  चरणको सगरमाथा आरोहण) अन्तर्गत सगरमाथाको आरोहण गर्नुभएको हो । विसं २०७२ मा नै सगरमाथा चढ्ने योजना भए पनि त्यतिबेला गोरखा भूकम्पका कारण चढ्न नसकेको उहाँले राससलाई जानकारी दिनुभयो ।   

श्रेष्ठले यो अभियानमार्फत समाज र देशमा एचआइभीसम्बन्धमा सचेतना फैलाउने लक्ष्य लिइएको बताउनुभयो । उहाँका अनुसार यस अभियानमार्फत एचआइभी सङ्क्रमित बालबालिकाको गुणस्तरीय शिक्षाका लागि सहयोग गरिने छ । विश्व कीर्तिमानी राख्नसमेत सफल हुनुभएका ड्रिमर्स डेष्टिनेशन ट्रेक्स एण्ड एक्स्पिीडिशनका फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्व र  आठ पटक आरोहण गरिसक्नुभएका आरोही दाकिपा शेर्पाकोे  पथप्रदर्शनमा श्रेष्ठले आठ ८४८ मिटर अग्लो सगरमाथा आरोहण गर्नुभएको हो । 

उहाँले सन् २०१३ मा  पाँच हजार ४१७ मिटर अग्लो थोराङ ला पास र सन् २०१४ मा छ हजार १८९ मिटर अग्लो आइल्याण्ड पिकको सफल आरोहण गरिसक्नुभएको थियो । उहाँले सन् २०१६ मा भर्जिन पिक÷खाङ कार्पीको समेत आरोहण गरिसक्नुभएको छ । सगरमाथाको सफल आरोहण गरेर श्रेष्ठले एचआइभी सङ्क्रमितले पनि जोखिम र चुनौतीपूर्ण काम गर्न सक्छन् भन्ने प्रमाणित गर्नुभएको छ । उहाँ देशको मात्रै नभएर विश्वका समेत सङ्क्रमितका लागि आशाको केन्द्र बन्नुभएको छ । एचआइभी सङ्क्रमितलाई गरिने विभेदका विरुद्धमा सन्देश दिने उद्देश्यले यो काम गरेको आरोही श्रेष्ठले बताउनुभयो । 

उहाँमा २५ वर्ष पहिले एचआइभी सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सुईको प्रयोग गर्दा उहाँमा एचआइभी सरेको थियो ।  सन् २०१७ को विश्व स्वास्थ्य संगठनको तथ्याङ्कानुसार अहिले विश्वभरमा एचआइभी सङ्क्रमितको सङ्ख्या तीन करोड ६४ लाख छ । नेपालभर ३१ हजार २०  एचआइभी सङ्क्रमित रहेको नेशनल सेण्टर फर एड्स एण्ड एसटिडी कन्ट्रोलले  जनाएको छ । नेपालमा एचआइभीलाई महामारीका रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस