रोटरीले बनायो खानेपानी आयोजना र सार्वजनिक शौचालय

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, १७ : ०८
रोटरीले बनायो खानेपानी आयोजना र सार्वजनिक शौचालय

– हरि ढकाल

चितवन । रोटरी जलुके खानेपानी आयोजनाको दोस्रो चरणका योजना सम्पन्न भएका  छन् । करिब दुई करोडको सहलगानी रहेको योजना सम्पन्न भएपछि रोटरी क्लब अफ नारायणी मिड टाउनले बुधबार एक कार्यक्रम गरी समुदायमा आयोजना हस्तान्तरण गरेको छ । 

आयोजना अन्तर्गत बोरिङ पम्प २८ चेम्बर र ९ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यसैगरी गैँडाकोट ९ थुम्सिमा निर्माण गरिएको रोटरी सार्वजनिक शौचालयको समुद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रीक ३२९२ का गभर्नर चिन्तामणि भट्राईले मिलेर काम गरे ठूला ठूला योजना सम्पन्न गर्न सकिन्छ भन्ने रोटरीको विश्वास रहेको बताउनुभयो । 

गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले पहिलो र दोस्रो चरण गरि करिब ३ करोडका योजनाका कार्यक्रम गैँडाकोट नगरपालिका क्षेत्र भित्र सम्पन्न गरेकोमा गैँडाकोट नगरपालिकाका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसैगरी गैँडाकोट नगरपालिका वाड नं. ३ र वाड नं. १८ मा खानेपानीको चरम संकट रहेकोभन्दै त्यसतर्फ पनि सबैको ध्यान आकृष्ट गर्नुभएको छ । रोटरी डिष्ट्रिक ३२९२ जोन २४ का एजि रमेश श्रेष्ठ, रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष दिनुप बराल, रोटरी क्लब अफ नारायणी मिड टाउनका निवर्तमान अध्यक्ष अनिल थपलिया, जलुके खानेपानीका अध्यक्ष सुनिल ढकाल, रोटरी क्लब अफ फेयरफिल्ड लोवा युसएका डगलस फ्लोर नोय, वियोक लगायतले बोल्दै रोटरियनहरुको विश्वास र एकताले यस्ता समाजिक कामहरु हुने गरेको बताएका छन् ।

रोटरी क्लब अफ नारायणी मिड टाउनका पूर्व अध्यक्ष जि नारायण क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरियन आशिष भण्डारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

यसैबीच यसै आयोजना अन्तर्गतको थुम्सिमा निर्माण गरिएको रोटरी सार्वजनिक शौचालयको समुद्घाटन गरिएको छ । गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेलले गर्नुभएको थियो । गैँडाकोट ४ खयरटाँडीमा रोटरी र जलुकेको सहलगानीमा निर्माण गरिएको बोरिङका लागि शिवालय सेवा समिति गोपेश्वर धाम गैँडाकोट २ र थुम्सिमा निर्माण गरिएको सार्वजनिक शौचालयका लागि नारायणी सामुदायिक वनले जग्गा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस